चितवन- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन्। त्यसका लागि ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधन गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन्। नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएरसमेत टिम मिलाउन खोजेका ओलीको प्रयास विफल भएको छ।
नेम्वाङले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी फिर्ता नुहने बताएका छन्। उता उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई उनले उपराष्ट्रपतिको आश्वासन दिएका छन्।
त्यसमा शाक्य पनि सहमत नरहेको एमाले स्रोतले बताएको छ। नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन्।
आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन्। केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन्। प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन्।