शुक्रबार, भदौ ५, २०८३

एमालेको अधिवेशन होइन, ‘ओलीवेशन’ हो : गगन थापा

कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनलाई महाधिवेशन नै नभएको बताएका छन्। महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा एमालेको ‘ओलीवेशन’ भइरहेको उनले बताए।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनलाई महाधिवेशन नै नभएको बताएका छन्। महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा एमालेको ‘ओलीवेशन’ भइरहेको उनले बताए। 

काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै नेता थापाले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन्। त्यहाँ सबै बा! बा! मात्रै भन्छन्। नारायणी किनारमा अधिवेशन भइरहेको छैन, कसले ओली बा’को पाउमा तेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको छ।

यसका साथै उनले कांग्रेसका कार्यकर्ताहरूलाई अधिवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरेका छन्। उनले एमालेले गरेको भेलालाई देखेर आफ्नो टोलका केही बुढापाकाले कांग्रेसमा भने विवाद रहेको भन्दै चिन्ता व्यक्त गरेको बताए।

‘हिजो मेरो टोलका अभिभावकहरूले सोध्नुभयो। एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन। आज नारायणी किनारमा कति ठूलो सभा भयो। अधिवेशन त यस्तो पो हुनुपर्छ। तिमीहरूको हेर्‍यो, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ भन्दै मलाई सुनाए,’ थापाले भने। उनले ती त्यस्तो भन्ने व्यक्तिलाई एमाले ओलीवेशन गरेको र आफूहरूको अधिवेशन हुने बताएको उल्लेख गरे।

'हामीहरूबीचमा अलिकति फरक छ। हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो। अधिवेशन र ओलीवेशनमा फरक छ। हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन्। हरेक कार्यकर्ता आफैंमा एउटा स्वतन्त्र व्यक्ति हुन्। हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ। तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन,’ नेता थापाले भने।

नेता थापाले कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ–ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गरेका छन्। उनले पार्टी भित्रको मदभेद र मतान्तरकाबीचबाट राम्रो नेतृत्व आउने बताएका छन्।

उनले १४औं महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए। ‘म जहाँ उभिएको छु, त्यहाँ किन उभिएको छु? प्रत्येकसँग आफ्नो कारण छ, मसँग पनि कारण छ। पार्टीको नेतृत्व भनेको बगेको नदीजस्तो हुनुपर्छ, जमेको पोखरीजस्तो होइन,' उनले भने। नेता थापाले काठमाडौंमा सबुजकृष्ण बानियाँलाई मतदान गर्न पनि आग्रह गरेका छन्। 

नेता थापाले नेपाली जनताले अब भरोसा गर्न योग्य नेतृत्व खोजिरहेको बताएका छन्।  ‘नागरिकलाई अब चुनाव जित्ने कुरा होइन, नागरिकलाई अब भरोसा चाहिएको छ । यो यति लामो १२/१५ वर्ष लामो संघर्षपछि नागरिकले अब एउटा भरोसा खोजेका छन् । युवाहरूलाई मेरो जीवनकालमा यो देश केही बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ,’ उनले भने।

प्रकाशित: Nov 27, 2021| 13:27 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...