काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्वको चयनका गर्ने भन्दै विधान महाधिवेशनबाट नै समझदारी गरिएको थियो। तर, सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले कुनै पहल नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे।
भीम रावलको अध्यक्षमा उम्मेदवारीको घोषणापछि काठमाडौंमै आयोजित एक पत्रकार सम्मेलनका क्रममा भीम रावलको उम्मेदवारीलाई सुझावको रुपमा लिएको बताएका थिए। उनले भनेका थिए, 'सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुनु राम्रो हो। तर, निर्वाचन हुनु पनि लोकतान्त्रिक पद्धतीबाट नेतृत्व चयन हुनु पनि राम्रै हो। म कसैलाई केहीभन्दा दबाब दिएको हुनसक्छ। म दबाब दिने पक्षमा छैन।'
चितवनको नारायणी नदी किनारमा शुक्रबार महाधिवेशन उद्घाटनका क्रममा पनि ओलीले भनेका थिए, 'समझदारी सहमति र एकताका साथ पर्सिसम्ममा महाधिवेशन सम्पन्न गर्नेछौँ। सर्वाधिक जनसहभागितताका साथ सम्पन्न भएको छ। बन्दसत्र एकताबद्ध ढंगले ५ वर्षका लागि एमालेलाई मात्र होइन, देशलाई नै निर्देश गर्ने एकताबद्ध नेतृत्व निर्माण गरी महाधिवेशन हलबाट बाहिर आउनेछ।'
उनले अन्तर्विरोधमा नल्झन र समझदारीमा आउन समेत आग्रह गरेका थिए। 'सानातिना अन्तर्विरोध र समझदारीमा एकतालाई विश्वास गरी त्यो उचाइबाट काममा लाग्न म कार्यकर्तालाई आग्रह गर्छु।'
बन्द सत्रअघिको दृश्यलाई हेर्दा भने एमालेमा महाधिवेशनबाट सर्वसम्मत नेतृत्वको सम्भावना लगभग टुंगिएको छ। एमाले महाधिवेशनको कार्यतालिका अनुसार शनिबार नै उम्मेदवारी मनोनयन गरिने भएको छ। अध्यक्षका अर्का उम्मेदवार भीम रावलले पनि आफूले कुनै पनि हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताइरहेका छन्।
अध्यक्षमा चुनौती दिएका भीम रावललाई बसाएर आफू सर्वसम्मत हुने ध्यान्नमा लागेका अध्यक्ष ओली समूहमै वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल र शंकर पोखरेलले अडान कायमै राखेपछि थप जटिलता सिर्जना भएको हो।
सर्वसम्मत नेतृत्व चयनका लागि शनिबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी बढाएर ३०१ सदस्य पुर्याउने निर्णय गरेको थियो। यससँगै आकांक्षीहरु पनि बढेकाले नेताहरुको व्यवस्थापन गर्न सकस भइरहेको छ। अध्यक्ष ओली भने सकेसम्म चुनाव नगराउने मुडमा देखिएका छन्।
अहिले अध्यक्ष ओली र भीम रावलले छुट्टाछु्ट्टै आन्तरिक छलफल गरिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ। त्यस्तै अध्यक्षका आकांक्षी भीम रावलले पनि छलफलका लागि आफूनिकटका नेताहरुसँग छलफलमा छन्।
ओली आफू बसेको सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरिरहेका छन् भने रावल करिब ४ सय मिटर पर आफू बसेकै होटलमा आफूनिकट नेताहरूसँग बैठक गरिरहेका छन्। अर्कातिर सर्वसम्मती जुटाउन भन्दै अध्यक्ष ओली समूहका केही युवाहरुले नाराबाजी गरिरहेका छन्।
ओली समूहमै विवाद
सर्वसम्मतिको प्रयासमा लागेका ओली समूहभित्रै विवाद सिर्जना भएको छ। अध्यक्षले भीम रावललाई बसाएर आफू सर्वसम्मत हुने ध्यान्नमा लागे पनि ओली समूहकै चार नेताले अडान नछाड्दा समस्या थप जटिल बन्दै गएको छ।
वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले आफ्नो अडान कायमै राखेपछि समस्या थप जटिल बन्दै गएको हो। अर्कातिर वरिष्ठ उपाध्यक्षमा वर्तमान महासचिव ईश्वर पोखरेल ढुक्क भएको अवस्था नेम्वाङले चुनौती दिएका छन्।
ओलीसँगको छलफलमा पोखरेल र नेम्वाङ दुवै वरिष्ठ उपाध्यक्ष छाडेर अन्य पदमा सम्झौता गर्न तयार नभएको स्रोतले बताएको छ। त्यस्तै महासचिव पदका लागि लुम्बिनीका दुई नेताबीच ठूलै टसल देखिएको छ। महासचिवका दाबेदारद्वय शंकर पोखरेल र विष्णु पौडेल दुवै ओलीका विश्वासपात्र हुन्।
तर ओली सौराहा ओर्लिएदेखि पार्क सफारी रिसोर्टमा सहमतिका लागि भइरहेका छलफलमा दुवै नेताले पनि महासचिवबाट पछि नहट्ने अडान लिएका छन्। आफ्नै समूहका नेताहरु सहमतिका लागि तयार नभएपछि प्रक्रिया अघि बढाउन अहिले अध्यक्ष ओली सेभेन स्टार होटलस्थित बन्दसत्रस्थलमा आइपुगेका छन्।