शुक्रबार, भदौ ५, २०८३

सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउन सकेनन् ओलीले

पार्टीको जारी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल भएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं– पार्टीको जारी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली सहमति जुटाउन असफल भएका छन्। ओलीले महाधिवेशनको बन्दसत्र स्थल सौराहको पार्क सफारीमा शनिबार बिहान आफू निकट नेताहरु नेता सुवास नेम्बाङलगायतसँग छलफल गरे पनि सहमति जुट्न नसकेको एक नेताले जानकारी दिए।

उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान लिएका छन्। यी चारै जना ओली निकट मानिन्छन्। यस्तै महासचिवमा सुरेन्द्र पाण्डेले पनि दाबी गरेका छन्। नेता नेम्बाङले भने सहमतिका लागि प्रयास जारी रहेको बताएका छन्। 

यसअघि एमालेले नेतृत्व व्यवस्थापन गर्न पार्टीको पदाधिकारी संख्या र केन्द्रीय सदस्य संख्या थप गरेको छ। यस्तै यसअघि खारेज गरिएको पोलिटब्युरोको संरचना ब्युँताइएको छ। सौराहामा शुक्रबार राति बसेको एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, सात सचिव, ३०१ केन्द्रीय कमिटी, ९९ पोलिटब्युरो सदस्य हुने निर्णय गरेको थियो। अब यो निर्णय बन्दसत्रमा पारित हुनुपर्नेछ। बन्दसत्र केही बेरमा सुरु हुँदैछ।

अध्यमा उम्मेदवारी घोषणा गरेका भीम रावलले भने पदाधिकारी र केन्द्रीय कमिटी विस्तार गर्ने प्रस्ताव ल्याउँदैमा सर्वसम्मति गराउन सहयोग नगर्ने प्रतिक्रिया दिइसकेका छन्। रावलले भनेका छन्, ‘यसबाट सर्वसम्मति हुन सक्छ भन्ने केही छैन। चुनावमा जाने भनेको प्रतिनिधिहरूको कुरा हो।’ रावलले पनि आफू निकट नेताहरुसँग छलफल जारी राखेका छन्। यस्तै माओवादीबाट आएका रामबहादुर थापा समूहले पनि कम्तीमा चार  पदाधिकारीमा दाबी गरिररहेको छ।

आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने ओलीको तयारी छ। तर सबै उनी पक्षकै नेता हुन्। त्यसैले ओलीलाई पदाधिकारी व्यवस्थापन गर्न पनि समस्या देखिएको हो। 

असोजमा गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, सात सचिव, २२५ केन्द्रीय कमिटी हुने निर्णय गरेको थियो। तर त्यति बेला पोलिटब्युरोको व्यवस्था खारेज गरिएको थियो। एमालेले पदाधिकारीमा चार जना थप्ने निर्णय गरेको छ।  उपाध्यक्ष र उपमहासचिवमा दुई दुई जना थप गर्न लागिएको हो। यस्तै केन्द्रीय समितिमा ७६ जना थपिएको छ । साथै ९९ जनाको पोलिटब्युरो हुने भएको छ।


प्रकाशित: Nov 27, 2021| 12:35 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...