सौराहा– एमालेको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन भएमा मतदान गर्न १२ घण्टा लाग्ने भएको छ। यस्तै मतदान सकिएको चार घण्टामा मत परिणाम सार्वजनिक हुनेछ। पार्टीमा पदाधिकारी र सदस्य संख्या थप गर्न विधान संशोधन गरिएकाले नेतृत्व चयनका लागि हुने निर्वाचन प्रभावित भएको एमाले र्वाचन आयोगका प्रमुख विजय सुब्बाले बताए।
आयोगले सबै पदका लागि चुनावको व्यवस्था गरेको जनाएको छ। यसका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन तयारी अवस्थामा राखिएको सुब्बाले बताए। उनले भने, ‘मतदान भएमा ९२ वटा भोटिङ मेसिन प्रयोग गर्नेछौं।’ प्राविधिकहरुले सबै मेसिनमा उम्मेदवारको सूची राख्न २५ देखि ३० घण्टासम्म लाग्ने बताएका छन्। निर्वाचन भएमा रातभर गरेर तयार पार्ने र तयार पारेको २ घण्टाभित्र मतदान सुरु गर्ने योजना आयोगको छ।
एक जना मतदातालाई भोट हाल्न कम्तीमा आधा घण्टा समय लाग्ने अनुमान छ। एमाले महाधिवेशनमा २३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। ९२ वटा भोटिङ मेसिन प्रयोग गर्दा एउटा मेसिनमा २४ जनासम्म प्रतिनिधिले प्रयोग गर्न सक्छन्।
नेताहरु भने सकेसम्म केपी शर्मा ओलीलाई सर्वसम्मत गराउने प्रयासमा जुटेका छन्। केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले निर्वाचन हुने देखिन्छ।
सुब्बाले भने, ‘हामीले एक जनालाई मतदान गर्नका लागि अधिकतम समय आधा घण्टा लाग्ने अनुमान गरेका छौं।’ यस हिसाबले सबै मतदाताले बढीमा १२ घण्टामा मतदान गरिसक्ने अनुमान छ।’ मतदान सकिएको चार घण्टा जतिमा परिणाम सार्वजनिक हुने उनले बताए।
निर्वाचन प्रक्रियाका लागि ३० जनाको टोली खटिएका छन्। सुब्बाले भने, ‘थप जनशक्ति पनि चाहिने भएकाले स्थानीय कानुन व्यवसायीलाई अनुरोध गरेका छौं।’ सदस्य संख्या थप गरिएकाले पदाधिकारीमा सकेसम्म सहमति हुने दाबी गरिएको छ। यद्यपि अध्यक्षमा भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। नेताहरु भने सकेसम्म केपी शर्मा ओलीलाई सर्वसम्मत गराउने प्रयासमा जुटेका छन्। केन्द्रीय सदस्यका आकांक्षी धेरै भएकाले निर्वाचन हुने देखिन्छ। नेताहरुले विभिन्न शैलीमा प्रचार प्रसार थालेका छन्। सोही अनुसार तयारी थालिएको सुब्बाले जानकारी दिए।