बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • 'ए' डिभिजन लिगमा सातदोबाटोको म्याराथन, जुन थ्रीस्टारलाई हराएर सुरु भयो

'ए' डिभिजन लिगमा सातदोबाटोको म्याराथन, जुन थ्रीस्टारलाई हराएर सुरु भयो

आजको खेलसँगै सातदोबाटोले ए डिभिजन लिगमा पहिलो जित निकालेको छ। उसले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं– सातदोबाटो युथ क्लब र थ्रीस्टार क्लबका फरवार्डले सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा गोल गर्न सकेनन्। उनीहरुले अट्याकिङ थर्डमा अवसर पाए पनि अवसरलाई गोलमा परिणत गर्न सकेका थिएनन्।

त्यसैले थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ र सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीको एउटा लक्ष्य थियो– फरवार्ड खलाडीबाट गोल निकाल्न सक्नु। उनीहरुले त्यहि अनुसारको रणनीति बनाएको प्रिम्याच कन्फरेन्समा बताएका थिए।

नयाँ रणनीतिसँगै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो सातदोबाटो र थ्रीस्टारको खेल आक्रामक थियो। थ्रीस्टारबाटै तीन खेलाडी ल्याएर आफ्नो नयाँ टिम तयार गरेको सातदोबाटोले पहिलो हाफमा अग्रता बनायो। उसले सोहि एक गोलको अग्रताका साथ थ्रीस्टारलाई हरायो।

खेलपछि प्रशिक्षक केसीले आफू सन्तुष्ट भएको बताएका छन्। उनले भने, ‘सातदोबाटोले लिगमा पहिला जित निकाल्यो। नयाँ टिमले थ्रीस्टारसँग महेनेत गरेर खेलेको हो। अवसरको हिसाब गर्ने हो भने पनि हामीले राम्रो खेल्यौं। समग्रमा सन्तुष्ट छु। मैले चाहिँ अझै आसा गरेको छु। धेरै गर्न सक्छ टिमले।’

उनले यो खेललाई म्याराथनको सुरुआत भएको पनि बताएका छन्। पछिल्लो खेलमा उसले बराबरी गरेपछि आजको खेलमा जित निकाल्दै सातदोबाटोले म्याराथनको उत्कृष्ट सुरुआत गरेको छ। त्यो पनि उपाधि दावेदार थ्रीस्टारलाई हराएर।

पहिलो हाफको सुरुमै थ्रीस्टारका गोलकिपर गुल्लियम प्रिसोले बल नियन्त्रण गर्न नसक्दा पोस्टको बारनजिकैबाट बाहिरिएको थियो। तर उसले २९ औं मिनेटको अवसर भने गुमाएन। मार्टिन्स कयोदेले पास दिएपछि सुदीप गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेर पोस्टमा छिराएका थिए। यससँगै थ्रीस्टारविरुद्ध सातदोबाटोले अग्रता बनाएको थियो।

आजको जितपछि प्रशिक्षक केसीले आगामी खेल पनि विपक्षीको हिसाबले आफू बलियो भएर खेल्ने बताएका छन्। उनले भने, ‘मैले यसपल्ट १३ टिमलाई नै अपोनेन्टको रुपमा देखेको छु। हरेक टिमसँग जित्नुपर्छ भन्ने लिएको छु। जित्नका लागि कोच र खेलाडीले नै धेरै मेहनत गर्नुपर्ने हुन्छ। मैल ए डिभिजनका धेरै क्लबमा काम गरेको छु। थ्रीस्टारमा पनि गरेको थिएँ।’

गोलपछि पनि सातदोबाटोले दबाब बनाइरह्यो। ३५ औं मिनेटमा निरोज चौधरीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यस्तै, पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा प्रसान्त अवस्थीको प्रहार गोलकिपर गुल्लियमले बचाएका थिए।

त्यसलगत्तै सातदोबाटोले कर्नरको अवसर पाएको थियो। कर्नर प्रहारबाट पोस्टनजिकै रहेका मार्टिन्सको पास बल आए पनि उनी अफसाइड रहे। त्यस्तै, प्रशान्तले पहिलो हाफको अन्तिम मिनेटमा गरेको प्रहार पनि बाहिरियो।

यता थ्रीस्टारले सातादोबाटोले भन्दा धेरै अवसर खेर फाल्यो। निशान खड्काले पेनाल्टी बक्स नजिकै पाएको फ्रि किकको अवसरमा गोल गर्न सकेनन्। उनले पछिल्लो खेलमा च्यासलविरुद्ध फ्रि किकमै गोल गरेका थिए। खेलको ३७ औं मिनेटमा रितिक खड्काले पोस्टको नजिकबाट गरेको प्रहार गोलकिपरले बचाएका थिए।

त्यसलगत्तै थ्रीस्टारले कर्नर प्रहार गर्यो। त्यहाँ सन्जोक राईको प्रहारलाई डिफेन्डर अनन्त तामाङले हेडरमार्फत् गोलको प्रयास गरे पनि सफल भएनन्।

त्यस्तै, ४३ औं मिनेटमा थ्रीस्टारको अट्याक पनि गोलकिपर गुल्लियमले बचाए। आजको हारपछि थ्रीस्टारका प्रशिक्षक श्रेष्ठले उपाधि यात्रामा धक्का लागेको बताएका छन्। उनले भने, ‘उपाधि दावेदारको लागि आजको हार ठूलो समस्या हो। हामीले बल खेलाउनै सकेनौं। पोस्टमा धेरै अट्याक गर्न पनि सकेनौं। आजको हारले उपाधि दावेदारमा गाह्रो भएको छ।’

दोस्रो हाफको ५३ औं र ५५ औं मिनेटमा सातदोबाटोका खेलाडीलाई फल गरेको भन्दै प्रशिक्षक केसी टचलाइनमा आक्रामक रुपमा प्रस्तुत भएका थिए। त्यसक्रममा दुई खेलाडीलाई मैदानमा उपचारको आवश्यकता परेको थियो। खेलपछि उनले त्यसबारे असन्तुष्टि जनाएका छन्। उनले भने, ‘त्यो त हो नि जागिरको धर्म हो आफ्नो टिमका लागि बोल्नु नै पर्छ। कम्प्लेन चाहिँ खासै छैन। धर्म निभाएको हो।’

यद्यपि दोस्रो हाफ शान्त रुपमा सुरु भयो। खेलको ५० औं मिनेटमा थ्रीस्टारका निशान खड्काकोे फ्रिकिक पोस्टको फ्रेममा परे पनि गोलकिपर अभिषेक बरालले बचाए। त्यसको केहि मिनेटमा अनन्तले विपक्षीबाट खोसेको बल लालरम्मावियालाई दिएपछि डोना थापाले पोस्टनजिकै पुर्याएको बल पोस्टमा प्रहार गर्न सकेनन्।

५९ औं मिनेटमा चाहिँ सातदोबाटोको प्रहार डिफेन्डर राफेल रिमे क्लियर गरिदिए। ८२ औं मिनेटमा थ्रीस्टारका खड्काको कर्नर प्रहारलाई कप्तान विक्रम लामाले हेडमार्फत् गरेको प्रहारले पनि पोस्टको सहि दिशा लिन सकेन। दोस्रो हाफमा थ्रीस्टारले गुमाएको यो सबैभन्दा सुनौलो अवसर रह्यो।

थ्रीस्टारका प्रशिक्षक श्रेष्ठले आफ्नो टिममा राम्रो खेलाडी भए पनि व्यवस्थापन गर्न गाह्रो नभएका बताएका छन्। राम्रो स्क्वाड हुँदा हुँदै पनि उसले एक विदेशी खेलाडी अनुबन्ध गर्ने ठाउँ पनि पूर्ति गर्ने भएको छ। ‘विदेशी खेलाडी ल्याउन बाँकी छ। अब स्ट्राइकरमा समस्या भयो स्ट्राइकर ल्याउँछौं,’ उनले भने। आजको खेलमा थ्रीस्टारका मेन सप्लायर हेमन्त थापा मगर थिए। तर उनी आज अस्वस्थ भएकाले सुरुआति रोजाइमा थिएनन्। तर उनले दोस्रो हाफमा खेल्छु भनेपछि उर्जलले अवसर दिएका थिए। उनले भने, ‘हेमन्त आएपछि सजिलो भयो।’

यता ६३ औं मिनेटमा चाहिँ सातदोबाटोको चौधरीको प्रहार गोलकिपर गुल्लियमले बचाए। खेलको ७२ औं र मिनेटमा अट्याकिङ थर्डमा सुशील राईले प्रशान्तलाई बल उपलब्ध गराएका थिए। उनले आफैं प्रहार नगरेर मार्टिन्सलाई दिएका थिए। मार्टिन्सले पोस्टको बायाँबाट प्रहार गरेको बललाई गोलकिपरले डाइभ गरेर बचाए। त्यसको दुई मिनेटपछि चौधरीको उस्तै प्रहार गोलकिपरले त्यसैगरी बचाए।

‘हामीले पनि निकै कमीकमजोरी गरेको छौँ। धेरै गल्ती भयो। फिनिसि«मा सुधार गर्नुपर्छ,’ सातदोबाटोका प्रशिक्षक केसीले भने। ८९ औं मिनेटमा गोलकिपर गुल्लियमको फ्रिकिक गोलकिपर अभिषेकले बचाए। स्टपेज टाइमको अन्तिम मिनेटमा मार्टिन्सको पोस्टनजिकैको प्रहार गोलकिपर गुलिमले स्कोर हुनबाट जोगाए।

खेलको इन्ज्युरी समयमा थ्रीस्टारले फ्रि किक पायो। हेमन्त थापा मगरले फ्रिकिकलाई सदुपयोग गर्न सकेनन्। पछिल्लो खेलमा दुई फ्रिकिकलाई सदुपयोग गरेको थ्रीस्टारले आजको खेलमा भने गोल गर्न सकेन।

यससँगै पहिलो खेलमा सानदार जित निकालेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्न सकेन। फरवार्डलाई थप मजबुत बनाउने प्रशिक्षक श्रेष्ठको रणनीतिले फेरि एकपटक काम गर्न सकेन। उनले खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने, ‘हेमन्त बिरामी भएर राम्रो भएन। बीचमा बल होल्ड भएन। स्टराइकरमा समस्या नै छ। एक विदेशी खेलाडी साइन गर्न बाँकी छ। आजको खेलमा पनि पछि हेमन्त आएपछि केहि सहज भयो। पहिला त मिडफिल्डबाट बल पास नै भएनन्।’

आजको खेलसँगै सातदोबाटोले ए डिभिजन लिगमा पहिलो जित निकालेको छ। उसले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

प्रशिक्षक श्रेष्ठले अन्तिममा भने, ‘आज सातदोबाटोको आजको खेल साँच्चै राम्रो थियो।’ आज थ्रीस्टारले चाहिँ कस्तो खेल्यो त? सातदोबाटोका प्रशिक्षकले थ्रीस्टारको खेलमा विचार नगरेको बताए। उनले भने, ‘थ्रीस्टारको खेल हेर्न नै पाइनँ। म मेरो टिमको व्यवस्थापनमा नै व्यस्त बनेँ। किनकि मलाई तीन अंक चाहिएको थियो। तीन अंकमा फोकस गर्नु थियो। थ्रीस्टारको गेम घर गएर हेर्छु।’

मेघराज केसीले अन्तिममा भने, ‘नेपालमा हरेक सिजन जिरोबाट टिम बनाउनु पर्छ। सिजन सकिने बित्तिकै आफ्नो क्लब सकिन्छ।’ मेघराजको शब्दमा यो लिग म्याराथन हो। भर्खरै मात्र दौड सुरु भएको छ। त्यसैले उनले अहिलेको शीर्षस्थानबाट आफू नहौसिने बताएका छन्। उनले अहिले आफूले अंक टेबलतिर नहेर्ने संकेत गरेका छन्।

प्रकाशित: Nov 26, 2021| 17:20 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।