काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सबैभन्दा बढी जनताले मन पराएको पार्टी भएको दाबी गरेका छन्।
चितवनको नारायणी नदी किनारमा आयोजित पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेकपा एमाले देशको सबैभन्दा ठूलो पार्टी, सबैभन्दा बढी जनताले मन पराएको, समाज परिवर्तनका लागि योगदान गरेको पार्टी हो। इतिहासमा रगत बगाएर, दुःखकष्ट गरेर देशलाई परिवर्तन गर्ने आन्दोलनमा योगदान गरेको पार्टी हो। जनताका समस्या समाधान गर्ने र समृद्ध नेपाल सुखी नेपालीको सपना बोकेको पार्टी हो।’
ओलीले थपे, ‘नेपालका आर्थिक, सामाजिक र तमाम समस्याको समाधान देशको प्रमुख पार्टी एमालेले नै गर्न सक्छ भन्ने विश्वास आम जनतामा छ।’ महाधिवेशनपछि एमाले चुनावका लागि तत्पर हुने उनले सुनाए।
सम्बोधनको सुरुमा महाधिवेशनमा आएका पाहुनाहरुलाई स्वागत गरेका ओलीले त्यसपछि एमालेको बखान गरेका थिए।