चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र ४ घण्टामै सक्ने गरी कार्यक्रम तालिका बनाइएको छ। दिउँसो साढे १२ बजे सुरु गरेर साढे ४ मै सक्ने योजना बनाइएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा धेरै वक्ता नहुने तर शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन्। महाधिवेशनको पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। उद्घाटन सत्रमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नेछन्।
‘उद्घाटनसत्र छोटो–मिठो बनाउने योजना बनेको छ,’ रावलले भनिन्, ‘जनजातिहरुको झाँकी, बाजा सहितको ¥याली पनि निस्कन सुरु भइसकेको छ।’
जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको ¥याली सहभागी हुने बताइन् चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन्। पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ। यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नेछन्। पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस टर्मिनलबाट जुलुस निस्कने छ। नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नेछन्।
मूल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ। बन्दसत्र सौराहामा भोलि विहान साढे ८ बजेदेखि सुरु हुनेछ।