काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्दी थ्रिस्टार क्लब पाएको छ।
पहिलो चरणमा क्लिन सिट राख्दै थ्रिस्टार क्लबले अर्को बलियो क्लब च्यासल युथ क्लबलाई तीन गोल गरेको थियो। शुक्रबार १ बजे सुरु हुने खेलमा पनि थ्रिस्टार सोहि लय कायम राख्ने दाउमा हुनेछ। तर नयाँ क्लबमा खेलाडीको जोसको कारण गाह्रो हुनसक्ने कुरामा थ्रिस्टारका प्रशिक्षक सजग छन्। त्यसैले दुवै टिम पछिल्लो खेलको गल्ती सुधार गर्दै फरक रणनीतिका साथ आउँदैछन्।
थ्रिस्टारका प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन्, ‘नयाँ टिमसँग झन गाह्रो हुन्छ। सातदोबाटो टिम निकै राम्रो छ। हरेक खेल फाइनल हो।’
यता सातदोबाटो पछिल्लो खेलमा गरेको गल्तीलाई सुधार गर्दै जित निकाल्ने दाउमा नै खेलमा होमिने प्रशिक्षक मेघराज केसी बताउँछन्। ‘पहिलो प्रयासमा दरो उपस्थिति जनाउनका लागि हामी खेल्छौं। हामी तीन अंकका लागि खेल्छौं। मैले सबै टिमलाई नजिकबाटै चिनेको छु। नेपाली फुटबल सानो छ। थ्रिस्टार भन्नुपर्ने अवस्था छ भन्नुपर्छ जास्तो चाहिँ लाग्दैन मलाई,’ उनले भने।
पछिल्लो खेलमा सातदोबाटोले खेलमा दबाब बनाए पन जित निकाल्न सकेको थिए। त्यसैले उनले गल्तीलाई सुधार गर्दै खेल्ने बताएका छन्।
‘पहिलो खेलमा हामीले ५–६ वटा अवसर खेर फाल्यौँ। त्यो समस्या दोहोरियो भने गाह्रो हुन्छ। योबीचको समयमा हामीले सुधार गर्ने प्रयास गरेका छौं,’ सातदोबाटोका प्रशिक्षक केसीले भने, ‘हामीले थ्रिस्टारको खेल हेर्यौ। राम्रो थियो। अपोनेन्ट टिम हेरेर तयारी गरिरहेका छौं। तयारी राम्रो छ।’
त्यसो तर मेघराजको पुरानो क्लब हो थ्रिस्टार। उनले भने, ‘आफ्नो धेरै क्लब भइसक्यो। थ्रिस्टार पनि पुरानो क्लब हो। मैले ९ क्लबमा काम गरेँ,’ उनले थपे, ‘थ्रिस्टारमा राम्रो खेलाडी छन्। तालिकामा पनि उच्च स्कोर छ उनीहरुको।’
थ्रिस्टारले पछिल्लो खेलमा पनि बलियो उपस्थिति जनाएको थियो। जहाँ उसका फरवार्डले खेलमा गोल गर्न सकेनन्। सबै गोल डिफेन्डरले सेटपिसमा गरेका थिए। त्यसैले थ्रिस्टार प्रशिक्षक अहिले फरवार्डलाई चुस्त बनाउने योजनामा छन्।
उनी भन्छन्, ‘तयारी राम्रै थियो। तर फरवार्डले अट्याकिङ थर्डमा राम्रो मुभ बनाउन सकेनन। हामीले ६ दिन समय पाएका थियौं। राम्रो अभ्यास भएको छ । हामी केहि फरक रणनीतिमा छौं।’
उनले पहिलो खेलमा निकालेको जितबाट सन्तुष्ट रहेको पनि जनाएका छन्। तर त्यो सन्तुष्टि कायम राख्न चुनौति रहेको बताए। उनले भने,‘सबै प्रशिक्षकले आ-आफ्नो ट्याक्टिस लिएर आउँछन्। खेलाडीको सन्दर्भमा, थ्रिस्टारबाट पनि खेलाडी त्यहाँ गएका छन्। हामी पुरा मेहेनेतका साथ खेल्छौं,’ उनले भने।
यता सातदोबाटो क्लबलाई भने पहिलो खेलबाटै खलाडीमा ठुलो घाटा लागेको छ। उसका खेलाडी सिफामन्डला एससेलो अब लिग खेल्न नसक्ने गरि घाइते भएका छन्। उनको घुँडामा चोट लागेको छ।
कस्तो छ त्यो चोट? जवाफमा प्रशिक्षक मेघराज केसी भन्छन्, ‘धेरै घाइते भएको छन्। सिरियस इन्ज्युरी भएको छ। हामीलाई घाटा भयो छ।’
आजकै अर्को खेलमा फ्रेन्ड्स कलबले संकटा क्लबको सामना गर्ने भएको छ। लिगको पहिलो खेलमा यि दुवै क्ल्बले बराबरी खेलेका थिए। फ्रेन्ड्स क्लब सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको थियो भने संकटाले हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो।
शुक्रबारको खेललाई लिएर फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले गोल गर्ने गरि खेल्ने बताएका छन्। उनले भने,‘ अस्ति स्कोर निस्केन अब निस्किएला। अब निकाल्ने गरि खेल्ने हो। पहिलो खेल ठिकै भयो। अब चाहिँ राम्रो गर्ने हो।
तर उसलाई कार्डले गर्दा केही घाटा भएको छ। त्यसलाई मेन्टेन गर्नेगरि खेल्ने प्रशशिक्षक मिश्र बताउँछन्। उनले भने, ‘आउँदो खेलमा जसले बल पोसेसन राखेर खेल्यो उसले नै जित्छ।’
यो लिगमा फ्रेन्ड्सको लक्ष्य छ सुरक्षित भएर खेल्ने। ‘हामी पहिला सुरक्षित हुने हो। लिगमा तीन चार टिमको उच्च लेभल देखेको हो। बाँकी टिम एकै लेभेलले देखेको छु। चारबाहेकका टिमलाई मैले जित्ने लक्ष्य राखेको छु,’ उनले भने।
उनले थपे, ‘यो वर्ष जसरी पनि टिक्ने हो। र, अर्को लिगलाई राम्रो बनाउने हो। आज, हामी संकटासँग जितका लागि खेल्नेछौं। एक जितले धेरै प्रभाव पार्छ। हामी जितका लागि नै जान्छौं।’
यता संकटा पनि आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रनेछ। उसले पछिल्लो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेकाले त्यसबाट अघि बढ्नका लागि जित निकाल्न आवश्यक छ। संकटा र फ्रेन्ड्सको खेल पौने ५ बजे सुरु हुनेछ।