काठमाडौं- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार उद्घाटन गरिँदै छ। महाधिवेशन उद्घाटनका लागि सबै तयारी पुरा भएको एमालेले जनाएको छ।
चितवनस्थित नारायणी नदी किनारमा ५० लाख रुपैयाँ खर्चेर महाधिवेशन उद्घाटनका लागि मञ्च बनाइसकेको छ। महाधिवेशन उद्घाटन स्थल भव्य रुपमा सिँगारिएको छ।
महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित शीर्ष नेताकार्यकर्ता बिहीबार नै चितवन पुगिसकेका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्।
दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ। पाँच लाख कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने एमालेले जनाएको छ।
महाधिवेशन उद्घाटनअघि गैंडाकोट र भरतपुरका गरी विभिन्न सात स्थानबाट र्याली निकालिनेछ। चितवनमा ठूलो संख्यामा कार्यकर्ता उतार्न एमालेले जिल्ला–जिल्लाबाट बस रिजर्भ गरेर ल्याएको छ।
बन्दसत्र स्थल सौराह पनि झकिझकाउ पारिएको छ। नेता कार्यकर्ताको उपस्थितिले चितवनमा चाप बढेको छ। चाप बढेसँगै प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापासहित अन्य दलका नेताहरूले पनि सहभागीता जनाउने भएका छन्।
प्रचार विभाग प्रमुख भट्टराईका अनुसार महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो दिइएको छैन। नेता भट्टराईले बन्द सत्र शनिबार बिहान ८:३० बजे सुरु हुने बताएका छन्।
बन्द सत्रमा अध्यक्ष ओली र केही विदेशी पाहुनाले स्वागत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शनिबार साँझ ६:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
एमालेको १०औं महाधिवेशनबाट नेतृत्वका लागि अध्यक्ष ओलीसहित उपाध्यक्ष भीम रावलको उम्मेदवारी रहने देखिएको छ। रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्। ओलीले भने अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन्।