काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान साढे १० बजे दुबै बारका पदाधिकारीहरुलाई भेट्न बोलाएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए।
उनका अनुसार दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्नेछन्।
बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र पनि शुक्रबार प्रधानमन्त्रीलाई पनि बुझाउने कार्यक्रम रहेको छ।
प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका १९ न्यायाधीशले इजलास बहिस्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन्।
सत्तारुढ गठबन्धनको कात्तिक ३० गतेको बैठकले न्यायालयको विवादमा उचित निकास न्यायालयभित्रबाटै यथाशक्य दिनुपर्ने निर्णय गरेको थियो।