काठमाडौं– २९१ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले सुदूरपश्चिम प्रदेशमाथि दुई विकेटको जित निकालेको छ। यू–१९ पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा प्रदेश दुईले सुदूरपश्चिमलाई हराएको हो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४१ ओभर चार बल खेल्दै पूरा विकेट गुमाएर २९० रन बनाएको थियो। जवाफमा पाँच बल बाँकी रहँदै प्रदेश दुईले ८ विकेट गुमाएर पूरा गर्यो।
त्यस्तै गुल्सन झाले ४६ रन बनाए भने अमित यादव अर्धशतक बनाउनबाट एक रनले चुके। यादवले ७५ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए।
४७ रनको साझेदारी गरेका सन्तोष कार्की र रोहन बिकेले क्रमशः २१ र २३ रन बनाए। सुदूरपश्चिमका लागि शेल मल्ल र नरेन्द्र राउदले समान ३–३ विकेट लिए। एक विकेट लिनेमा हेमन्त धामी र लोकेश बम रहे।
त्यसअघि सुदूरपश्चिमको टिमबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन साउदले सतक प्रहार गरेका थिए। उनले प्रदेश २ विरुद्ध ७६ बलमा सतक बनाए। आफ्नो टिमका लागि विश्फोटक ब्याटिङ गरेका अर्जुनले चार छक्का र १२ चौका हान्दै सतक पूरा गरेका हुन्। उनले पूरा पारीमा ८४ बलमा ११६ रन बनाएर आउट भएका छन्।
खेलमा लोकेस बमले पनि अर्धसतकिय पारी खेलेका छन्। उनले ७३ बलमा एक छक्का र १३ चौकाको सहयोगमा ८१ रन बनाएका छन्।
सुदूरपश्चिमका कप्तान गजेन्द्र बोहराले १६ रन बनाए भने नरेश भट्टले पनि ३० रन बनाए। बसन्त कार्कीले २७ रन जोडे। बलिङतर्फ प्रदिप पासवानले तीन विकेट लिए भने अजय यादवले दुई र अदिल अन्सारीले एक विकेट गिराए। तृत राज भट्टले पनि एक विकेट लिए। यो जितसँगै प्रदेश २ ले २ अंक जोडेको छ।