काठमाडौं– ए डिभिजन लिगको फ्रेन्ड्स क्लबले नाइटिंगेल स्कुलसँगको सहकार्यमा युवा फुटबल एकेडेमी स्थापना गरी सञ्चालन गर्ने भएको छ। एकेडेमी सञ्चालनका लागि क्लब र स्कुलबीच सम्झौता भएको हो। अहिले ए डिभिजन लिगका सबै क्लबहरुले फुटबल एकेडेमी सञ्चालन गर्नुपर्ने भएकाले क्लबहरुले एकेडेमीको कामलाई निरन्तरता दिइरहेका छन्।
यसअघि अन्य ए डिभिजन क्लबले पनि एकेडेमीका लागि विभिन्न स्कुलसँग सम्झौता गरिसकेका छन्। एकेडेमी सञ्चालनमा सहयोग गरेकोमा नाइटिंगेल स्कुलले सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएको छ। स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानले युवा फुटबल एकेडेमी सञ्चालनपछि बालबालिकाको शिक्षण सिकाइका अतिरिक्त फुटबल प्रशिक्षणमा पनि विशेष जोड दिइने बताएकी छन्।
उनले भनेकी छन्, ‘‘एकेडेमी सञ्चालन गर्ने कार्यमा मन वचन र कर्मले प्रतिबद्ध भई सहयोग र समर्थन जुटाउन साथ दिने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा युवा विकास समितिका संयोजक उपेन्द्रमान सिंह, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा तथा लपु मनपा वडा नं १० का वडाध्यक्ष नरसिंह व्यन्जनकार लगायत सम्पूर्ण महानुभावमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।’