बुटवल- बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीले विद्युतीय मोटरसाइकल बनाएका छन्।
कक्षा १२ मा सिभिल इन्जिनियरिङ अध्ययरत विद्यार्थी सागर पोखरेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल सोमबार प्रदर्शन गरिएको छ। परिसरमा मोटरसाइकलको परीक्षण गरिनाका साथै पोखरेललाई विद्यालय व्यवस्थापन समितिले नगद रु ५१ हजारसहित सम्मान गरेको छ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोखरेललाई सम्मान गर्दै सामुदायिक विद्यालयका विद्यार्थी हरेक कार्यमा उत्कृष्ट हुनुको उदाहरण मोटरसाइकल निर्माण कार्य भएको बताए। उनले यस्ता विद्यार्थीलाई उपमहानगरपालिकाले समेत प्रोत्साहन गर्ने बताए।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ स्थायी घर भएका सागरले करिब रु एक लाख १० हजार खर्च गरेर मोटरसाइकल तयार गर्का हुन्। हजुरबुबा मोतिलाल, बुबा अनन्तमणि, आफ्नो नाम सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट मोटरसाइकलको नाम 'एमएएसबी' राखेको पोखरेलले बताए। ब्याट्री लिड एसिड प्रयोग भएको मोटरसाइकलमा करीब ४८ भोल्ट डिसी पावर छ।
हाल १०० किलोमिटरसम्म दूरी हिँड्न सक्छ भने पिकअप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्ने पोखरेलले बताएका छन्। यसअघि रोबर्ट, एक्साभेटर, फ्रिज, फोटोकपी मेसिनहरु समेत बनाएका पोखरेलले विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङ तथा ७५० वाटको इलेक्ट्रिक मोटर प्रयोग गरेको बताए। पोखरेल पढाइमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतको भनाइ छ। पोखरेलको मनोबल बढाउन विद्यालयले आज सम्मान गरेको उनले बताए।