काठमाडौं- सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ। सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको हो।
यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्नेछ। बिहीबार बसेको सर्वोच्चको फूल कोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गर्ने निर्णय गरेको थियो। फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो।
सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ।
गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेसँगै प्रधानन्यायाधीशको अधिकार भने कटौती भएको छ। यसअघि प्रधानन्यायाधीशकै तजबिजीमा पेसी तोक्ने गरिएको थियो।