एमाले सचिवमा उम्मेदवारी दिने महेश बस्नेतको घोषणा, गोकुल पनि तयारीमा
काठमाडौं- नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।
पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए।
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको दाबी गर्दै उनले आगामी दिनमा एमालेमा ऊर्जावान् युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको उल्लेख गरे। आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन्।
उता ७० करोड घुसका लागि डिल गरेको अडियो बाहिरिएपछि तत्कालीन सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले पनि एमाले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले आफू केन्द्रीय सदस्य भइसकेको र सचिवभन्दा माथिको पदमा उम्मेदवारी दिने सोच बनाइनसकेको उल्लेख आफू सचिवको उम्मेदवार भएको संकेत गरेका छन्। यद्यपि औपचारिक रूपमा बाँस्कोटाले उम्मेदवारी घोषणा गरेका छैनन्। आफूमाथि लगाइएको घुसको डिल गरेको आरोप निराधार रहेको उनले दाबी गर्दै आएका छन्।