काठमाडौं– यूएईमा जारी आईसीसी विश्वकपको एसियाली छनोट अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपाली महिला क्रिकेट टिमले ६ विकेटको हार बेहोरेको छ। हङकङविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १०४ रन जोडेको थियो।
१०५ रनको लक्ष्यका साथ मैदान पसेको हङकङले १३ बल बाँकी रहँदै ४ विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो। त्यसअघि नेपालले पुरा ओभर खेल्दै तीन विकेट गुमाएर १०४ रन जोडेको थियो।
दुवईस्थित आईसीसीको एकेडेमीमा आज सवा ११ बजेबाट सुरु भएको खेलमा नेपाली ओपनर सिता राना मगरले ५८ बलमा अविजित ४० रनको योगदान दिइन्।
उनले चार चौकका साथ सो रन जोडिन। त्यस्तै, इन्दु वर्माले ३१ रन बनाइन्। तर ओपनर कविता कुँवर र काजल श्रेष्ठले राम्रो सुरुआत गर्न सकेनन्। कुँवर शून्य रनमै आएट भइन भने श्रेष्ठले चार रन जोडिन्।
बलिङतर्फ हङकङका बेट्टी चान र केरी चानले समान १–१ विकेट गिराए। जवाफमा हङकङका मारिको हिलले ४३ रन बनाइन भने नतासा मिल्सले १६ रन जोडिन्। त्यस्तै केरी चानले १७ रन बनाइन्। नेपालका कविता कुँवर, सिता राना मगर र सबनम राईले समान १,१ विकेट लिए।
आज सोमबारबाट सुरु भएको आईसीसी विश्वकप २०२३ को एसियाली छनोटमा नेपालको अब चार खेल बाँकी छ।
छनोटमा कुल ६ टिमको सहभागिता रहेका छ। त्यहाँ नेपालसहित, हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछ। दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा नेपालले हङकङसँग खेलिरहेको छ।
यो छनोटको शीर्ष स्थानमा रहने टिमले विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ।