क्यामेराको फ्रेममा छन्, कपिल मगर र मिनाक्सी। भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी।
यति पढिरहँदा तपाईंलाई लाग्दो हो– कपिल र मिनाक्सीबीच अब कुनै कला, कलाकारिता या संघर्षको मिठो संवाद हुँदो हो। तर, अहँ यहाँ त्यस्तो कुनै रचनात्मक कुराकानी भइरहेको छैन, बरु भद्दा तमासाको मञ्चन भइरहेको छ।
‘ल ठिक छ अब गरौं है,’ भिडियो सुरु भएको सात मिनेटसम्म कपिल मिनाक्सीसँग कुनै अन्तर्वार्ता गर्दैनन्, तर तमासाको भद्दा श्रृंखला सुरु भइसक्छ। मिनाक्सीलाई दर्शकमाझ चिनाउने बहानामा उनीतिर संकेत गर्दै कपिल चिच्याउन थाल्छन्, ‘हेल्लो साथीहरु नमस्कार! आज म तपाईंहरुमाझ उपस्थित भइसकेको छु एकजना घिनेमान, यो जगुल्टेलाई ल्याएर।’
आफ्नो परिचय यसरी दिएपछि मिनाक्सी रिसाएको ‘अभिनय’ गर्छिन्। कपिलको टाउकोमा हिर्काउन थाल्छिन्। भन्छिन्, ‘दिनु छैन मलाई इन्टरभ्यू सिन्टरभ्यू।’
तर, क्यामेराको फ्रेमबाट बाहिर हट्दिनन् उनी। उता मिनाक्सीको ‘रिस’ले कपिललाई केही फरक पर्दैन। उल्टै हातले धकेलेर मिनाक्सीलाई डाँडातिर लडाउन थाल्छन्। अनि, फेरि बोलाउन थाल्छन्, ‘आउ न आउ।’
रिसले चुर हुँदै मिनाक्सी भन्न थाल्छिन्, ‘तपाईंले लास्टै गर्नुभयो।’ तर, मिनाक्सीको रिसकै हुर्मत लिँदै कपिल उल्टै जिस्क्याउन थाल्छन्, ‘मैले कतिचोटी गरें?’
भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी।
प्रश्न सोध्ने बहानामा कपिल मिनाक्सीसँग टाँसिन खोज्छन्, उनलाई छुन खोज्छन्। तर, मिनाक्सी नछोईकन बोल्न आग्रह गरिरहन्छिन्। अति भएपछि मिनाक्सी रिसाउँदै कपिललाई आफूतिर तेर्स्याएको माइक हटाउन भन्छिन्। तर, कपिलले कहाँ सुन्नु! उल्टै बसिरहेको ठाउँबाट जुरुक्कै उठेर पुठ्ठो फर्काउँदै मिनाक्सीको मुखतिर पुर्याउँछन्, अनि भन्न थाल्छन्, ‘पत्रकारले माइक नफर्काएर यो फर्काउनुपर्ने?’
मिनाक्सी प्रतिकार गर्छिन्। र, १३ मिनेटको भिडियो यत्तिमै सकिन्छ। सेप्टेम्बर ३० मा कपिल मगर नाम गरिएको च्यानलबाट अपलोड भएको यो भिडियो १ लाख ५६ हजारभन्दा बढी पटक हेरिएको छ। र, यसको शीर्षक छ– ‘न्यू नेपाली प्र्यांक– मिनाक्सी गट प्र्यांक। रत्नपार्क ठमेलवाली। प्र्यांक बाइ कपिल मगर। आउ सुतेर गरम।’
०००
‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु उत्पादन गरेर युट्युब र टिकटकमा भाइरल भइरहेको नाम हो, कपिल मगर।
युट्युबमा उनका दुइटा च्यानल छन्, ‘केआरपी मुभिज एन्ड म्यूजिक’ र ‘कपिल मगर’, जहाँ उनले यस्तै ‘प्र्यांक भिडियो’हरु अपलोड गरेका छन्। ‘के आर पी मुभिज’ च्यानलमा १ लाख ६१ हजार सब्सक्राइबर छन् भने कपिल मगरमा १ लाख २६ हजार। दुवै च्यानलमा उनले प्र्यांकको नाम दिँदै भिडियोहरु राखेका छन्। दुवैतिर राखिएका भिडियोमा लाखौंको तहमा भ्यूज गएका छन्।
उनले राखेका अधिकांश ‘प्र्यांक’ भनिएका भिडियो क्यामेरा अगाडि बुम तेर्स्याएर अन्तर्वार्ता शैलीमा खिचिएका छन् तर त्यहाँ कुनै अन्तर्वार्ता लिइएको छैन। बरु अन्तर्वार्ताका नाममा अतिथिहरुलाई तथानाम सम्बोधन गर्नेदेखि हातपात गर्नेसम्मका गतिविधि देखिन्छ। उनका भिडियो हेर्दा लाग्छ, अश्लील र द्विअर्थीसंवाद बोल्नु र कसैमाथि भद्दा मजाक गर्नु उनका लागि खास ‘प्र्यांक’ हो। उनका भिडियोमा सिर्जनशिलता र अभिनय शिल्प भेटिने त कुरै भएन।
अर्को एउटा उदाहरण हेरौं।
दुई महिनाअघि ‘कपिल मगर’ च्यानलमा अपलोड गरिएको एउटा भिडियोको शीर्षक छ, ‘न्यू नेपाली प्र्यांक, सोल्टिनी गरम्न, गट प्र्यांक भैंसी सुँगुर्नी बाइ कपिल मगर।’
शीर्षकबाटै अनुमान गर्न सकिन्छ, भित्र के होला!
यो भिडियो पनि कपिलका प्रायः भिडियोझैं कुनै एकान्त डाँडामा खिचिएको छ। फ्रेममा एक युवती टिकटक बनाइरहेको अवस्थामा देखिन्छिन्। त्यहीबेला युवतीले नदेखेझैं गर्दै उनलाई डिस्टर्ब गर्न पुग्छन्, कपिल।
‘सँगै टिकटक बनाम्न,’ उनी जिस्क्याउन थाल्छन्। लगत्तै द्विअर्थीभाषा सुरु गर्छन्। भन्न थाल्छन्, ‘कति मोटाको भैंसी’।
युवती रिसाएझैं झर्किएर बोल्छन्। कपिल केही सुन्दैनन्, सुने पनि टेर्दैनन्। उल्टै खल्तीबाट मोबाइल झिक्छन् अनि कसैलाई फोन गरेको नाटक गर्दै भन्न थाल्छन्, ‘ओइ, सब केटाहरुलाई बोलाएर आइज न, क्या दामी केटी छ यहाँ। र्याक हान्नुपर्छ।’
युवतीको रिसको ग्राफ बढ्दै जान्छ। ‘तैंले चिन्या छस्, मलाई?’ रिसाएको भावमा कपिललाई पिट्न खोज्छिन्, लखेट्न थाल्छिन्। तैपनि कपिल रोकिँदैनन्। झन् जिस्क्याउन थाल्छन्। कहिले ‘ओइ भैंसी’ भन्छन् त कहिले द्विअर्थीभावमा ‘ओइ सोल्टिनी, तिमी पनि एक्लै, म पनि एक्लै, मिलेर अब...।’
विवाद भइरहेकै बेला युवतीका श्रीमान् आइपुग्छन्। युवती कपिलले गरिरहेको व्यवहारबारे श्रीमानलाई सुनाउँछिन्। तैपनि कपिल डराउँदैनन्। त्यसैले ती युवतीको श्रीमान् आइपुगेपछि पनि उनी रोकिँदैनन्। उल्टै श्रीमान्लाई पनि ‘भैंसीको पोइ, गैंडा’ भनेर सम्बोधन गर्न थाल्छन्। त्यत्तिकैमा उनी लडेर डाँडामा पछारिन पुग्छन्।
त्यसपछि युवतीका श्रीमान्ले समातेर के पिट्नमात्रै खोजेका हुन्छन्, उनी लुरुक्क परेर ‘दाइ, भिडियो बनाको, उ... त्यहाँ क्यामेरा छ’ भन्दै देखाइहाल्छन्।
उनका भिडियो हेर्दा लाग्छ, अश्लील र द्विअर्थीसंवाद बोल्नु र कसैमाथि भद्दा मजाक गर्नु उनका लागि खास ‘प्र्यांक’ हो।
प्र्यांक गरेको जानकारी गराएपछि रिसले चुर देखिएको जोडी एकाएक शान्त हुन्छ। ‘ल ठिकै छ, त्यसो भए,’ प्रतिक्रिया आउँछ। यतिसम्म कि कपिलले भिडियो हाल्दा फरक पर्दैन नि भनेर प्रश्न गर्दा ती युवती मुस्कुराउँदै जवाफ फर्काउँछिन्, ‘हुन्छ हाल्नुस् न, झन् जनचेतनामूलक हुन्छ।’
पूरा भिडियो हेर्दा कपिलले पूर्व तयारी गरेरै प्र्यांक गरेको सहजै अनुमान गर्न सकिन्छ। यो भिडियोमा मात्रै हैन, उनका अधिकांश प्र्यांक भिडियोले त्यस्तै महसुस गराउँछन्। भाइरल बनाइदिने लोभमा धेरै उनको मजाकको पात्र बनिरहेको स्पष्ट महसुस हुन्छ।
समाजशास्त्री प्रा.डा मीना उप्रेती कपिलले बनाइरहेका भिडियोमा उनले जस्तो भाषाशैली, प्रस्तुति र व्यवहार देखाइरहेका छन्, त्यसलाई एक किसिमको हिंसा मान्छिन्। ‘यो त रमाइलो गर्ने नाममा विकृत प्र्यांक भिडियो भयो,’ उनी भन्छिन्, ‘यसले समाजमा गम्भिर असर निम्त्याइरहेको छ। यस्तै भइरह्यो भने समाजमा सामाजिक विचलन, मानसिक विकृति र मनोरोगीहरुको संख्या बढ्न सक्छ। कारण, मान्छे यस्तै कुरा खोजी–खोजी हेर्न थाल्छ।’
अर्को उदाहरण ‘बडी सेमिङ’
युट्युब र टिकटकलाई निरन्तर पछ्याउनुहुन्छ भने चितवन देवघाटका भीम दाइ (विश्वकर्मा)लाई पक्कै हेरेको हुनुपर्छ। शारीरिक रुपमा फरक क्षमताका उनलाई पछिल्लो समय युट्युबरहरुले निरन्तर पछ्याइरहेका छन्। तर, अधिकांशले उनलाई हाँसोको पात्रका रुपमा देखाइरहेका छन्। हाँस्नु स्वास्थ्यका लागि निःसन्देह फाइदाजनक छ। तर, कसैको कमजोरी, त्रुटि, अपूर्णतामाथि हाँस्नु जायज हो र? प्रश्न पनि उठिरहेकै छ।
यिनै भीम दाइसँग आफूलाई ‘प्र्यांक्स्टर’ दाबी गर्ने कपिल मगरले पनि भिडियो बनाएका छन्, चितवन नै पुगेर। अगस्ट ७ मा अपलोड भएको भिडियो २ लाख १४ हजारभन्दा बढीपल्ट भ्यूज भएको छ। र, यसको शीर्षक छ– ‘न्यू नेपाली प्र्यांक। भीम दाइ गट प्र्यांक– ‘गोजेङरे’। प्र्यांक बाइ कपिल मगर।’
भीम दाइसँगको भिडियोमा कपिलले ‘बडी सेमिङ’ मात्रै गरेका छैनन्, उनलाई एउटी नचिनेकी युवतीसँग फोनमा सम्पर्क पनि गराइदिएका छन्। ती युवतीले भीमलाई ‘मेरो हस्बेन्ड’ भनेर सम्बोधन गर्छिन्। निर्दोष भीम हाँसेरै टारिदिन्छन्। कपिल भीमलाई द्विअर्थी भावमा भन्छन्, ‘तपाईंको त ठूलो छ रे नि है भीम दाइ, देखाउनु त।’ र, यसरी भरपुर मजाक उडाएपछि भिडियोको अन्त्यमा कपिल भीमलाई आफ्नो काखमा राख्छन् र ५ सय रुपैयाँ दिएर हिँड्छन्।
किन गर्छन् कपिल यस्तो?
समाजशास्त्री डा. मीना उप्रेतीका अनुसार निराश र विचलित अवस्थाबाट गुज्रिरहेका युवाहरु विशेषगरी यस्तो अश्लील र आपत्तिजनक भिडियो निर्माणमा लागिरहेका छन्। ‘युट्युबमा त्यस्तो भिडियो बनाउँदा भ्यूज बढी जान्छ। भ्यूज बढी जाँदा डलर बढी आउँछ, आम्दानी बढी हुन्छ। र, त्यही लोभमा उनीहरुले यस्तो काम गरिरहेको देखिन्छ,’ समाजशास्त्री उप्रेती भन्छिन्।
उप्रेतीको विश्लेषण कपिलकै करिअरसँग पनि मेल खान्छ। कारण– उनी युट्युबमा आउनुअघि कलाकारितामा संघर्षरत थिए। उनको युट्युब च्यानलमा प्र्यांकबाहेक सिरियल, म्यूजिक भिडियो लगायतका भिडियो पनि राखिएका छन्। भलै तिनीहरुको शीर्षक पनि ‘द्विअर्थी’ र भद्दा छन्।
आफैंसँग लिइएको एउटा अन्तर्वार्ता उनले च्यानलमा राखेका छन्। जहाँ उनले आफूलाई ‘प्र्यांक्स्टर’का रुपमा उभ्याएका छन्। त्यहाँ उनले आफूले बनाएको प्र्यांक भिडियोमा विकृति बढ्दै गएको आरोप असाध्यै आउन थालेपछि पछिल्लो समय कम गर्दै गएको बताएका छन्। किन यस्तो भिडियो बनाउनुहुन्छ भन्ने प्रश्नमा उनले सहजै भनेका छन्, ‘यो हाम्रो कमाइ खाने बाटो हो, बाँच्ने आधार हो। त्यसैले व्यंग्यात्मक तरिकाको रमाइलो भिडियो, डर्टी माइन्ड टाइपको बनाको हो। धनीमानीले नै धेरै हेर्नुहुँदो रहेछ।’
सोसल मिडियामा ‘लाइफ ड्यामेज’ भनेर भाइरल भएका कथित अघोरी बाबासँग पनि उनले थुप्रै भिडियो बनाएका छन्। अघोरी बाबासँग भिडियोकै कारण कपिलको च्यानल मनिटाइज भएको उनले स्वीकारेका छन्। तर, प्र्यांक भिडियोका रुपमा भने धेरै दर्शकमाझ मेरी बास्सैकी सुशीला निरौला (बिम्ली)को भिडियोले चिनाएको उनले सगर्व सुनाएका छन्।
२०२१ फेब्रुअरी १८ मा अपलोड भएको यो भिडियोमा पनि ५ लाखभन्दा बढी भ्यूज गएको छ। जहाँ कपिलले आफूलाई झारपात मिडियाका रुपमा चिनाएका छन्, अनि कलाकार सुशीलालाई कहिले बाँदर्नी, कहिले झारपात त कहिले कुकुर्नी भन्दै सम्बोधन गरेका छन्। भिडियोको अन्त्यतिर जब सुशीला कपिललाई माइक खोसेर पिट्न खोज्छिन्, त्यसपछि उनी ‘प्र्यांक गरेको’ भनेर सहजै उम्किन्छन्।
गाली बेइज्जती सम्बन्धी कसुर अन्तर्गत दफा ३०५ को उपदफा (१) मा स्पष्ट उल्लेख छ, ‘कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ।’ त्यस्तै दफा ३०६ को उपदफा २ मा स्पष्ट भनिएको छ, ‘अरुको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिब कारण भई लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचार प्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तोे व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भन्ने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार, प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्री वा बितरण गरेमा’ निजले बेइज्जती गरेको मानिनेछ।
गाली बेइज्जती सम्बन्धी कसुर अन्तर्गत दफा ३०५ को उपदफा (१) मा स्पष्ट उल्लेख छ, ‘कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा निजले गाली गरेको मानिनेछ।’
यसरी कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था पनि कानुनमा उल्लेख छ। तर, विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँँसम्म जरिबाना हुने पनि गाली बेइज्जती सम्बन्धी कसुरको परिच्छेदमा उल्लेख छ।
समाजशास्त्री डा. मीना उप्रेती यस्तो विकृत प्र्यांक भिडियोको उत्पादनहरु विकसित र बलियो समाजमा नहुने बताउँछिन्। ‘यस्तो अनियन्त्रित र बेलगाम विस्तार अस्थिर समाजमा मात्रै हुने गर्छ,’ उनी भन्छिन्, ‘त्यसैले हाम्रो समाज पनि अस्थिर बन्दै छ भन्ने संकेत यसले गर्छ। हामीकहाँ प्र्यांकका रुपमा बनिरहेका भिडियोमा एकदमै अशोभनिय भाषा शैली र प्रस्तुतिकरण देखिन्छ। द्विअर्थी संवादहरुको प्रयोग ज्यादा छन्। यसलाई जसरी पनि रोक्नुपर्छ। यो बढ्दै गयो भने नैतिकता, गम्भीरतामाथि क्षयीकरण हुँदै जान्छ। भद्दा मजाक गर्ने समाज बढ्दै जान्छ। अनि, यसैमा रमाइलो हुन्छ भन्ने मनोविज्ञानको विकास हुँदै जान्छ।’
यस्ता प्रायोजित र परिचालित युट्युबरहरुलाई नियन्त्रणमा ल्याउन नसके भयावह परिणाम आउने उप्रेतीको विश्लेषण छ। ‘यो क्रम रोकिएन भने अश्लील सामग्री र भद्दा मजाकमै रमाउने पुस्ताको जन्म हुने देखिन्छ,’ उनी भन्छिन्, ‘यस्तो विकृत प्र्यांक सामग्रीले नजानिँदो तरिकाबाट युवाहरुलाई मनोरोगी बनाउँदै लाने देखिन्छ। दिमागलाई विकृत बनाउने विषयवस्तुसँग युवाको संलग्नता बढ्दै गयो भने निकम्मा जमात बढ्दै जान्छ। प्र्यांकका कतिपय विषयवस्तु वास्तविक जीवनलाई धराशायी बनाउने किसिमका छन्। यसले पारिवारिक जीवन पनि ध्वस्त बनाउन सक्छ।’ ’
उप्रेती थप्छिन्, ‘राज्य, समाज र व्यक्तिको सुन्दरता र कुरुपता भन्ने कुरा उसको भाषाशैली, उसको प्रस्तुतीकरण, उसको मिडियामा देखाउने कुराले निर्धारण गर्छ। त्यसैले कुनै पनि राज्यको पहिचान, कुनै पनि समाजको स्तर र कुनै पनि व्यक्तिको मनोदशा र सुन्दरता भन्ने कुरा उसको भाषाशैली, उसको नम्रता, उसको बोल्ने तरिकाले पनि निर्धारण गर्छ। नेपाली समाजमा यो विस्तारै हराउँदै छ। सोसल मिडिया ट्रेन्डिङमा आइरहेका कन्टेन्ट र त्यहाँ देखिने भद्दा कमेन्टले पनि यस्तै संकेत गर्छ। समाजमा भएका मूल्यमान्यता, धर्मसंस्कार, सभ्यता आदिलाई खलल पुर्याउने खालका कुनै पनि विषयमा प्र्यांक रोक लगाउनुपर्छ। यहाँ त प्र्यांकका नाममा खुलेआम हिंसा भइरहेको छ। कसैको शारीरिक बनावट, मानसिक अवस्थामाथि खुलेआम मजाक उडाइँदै छ। यसलाई रोकिएन भने समाजमा भयानक अवस्था आउने पक्का छ।’