काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार करिब १ सय १५ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ। यी क्षेत्रबाट झन्डै ३ हजार महाधिवेशन प्रतिनिधि छानिनेछन् ।
एउटा निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ देखि २७ जनासम्म महाधिवेशन प्रतिनिधि चुनिने समितिले जनाएको छ। सोमबार प्रदेश १ का २८ मध्ये २६ क्षेत्रमा निर्वाचन हुँदै छ। एक–एक क्षेत्र भएका ताप्लेजुङ र संखुवासभामा दसैंअघि अधिवेशन भइसकेको छ। वाग्मतीका ३३ मध्ये २८ क्षेत्रमा निर्वाचन हुँदै छ।
दोलखा र रामेछापमा यसअघि निर्वाचन भइसकेको छ भने एक निर्वाचन क्षेत्र भएको रसुवा र दुई निर्वाचन क्षेत्र भएको सिन्धुपाल्चोकमा पालिका र प्रदेशसभा अधिवेशनको प्रक्रिया जारी छ । गण्डकीका १८ मध्ये १४ क्षेत्रमा अधिवेशन हुँदै छ। एक–एक निर्वाचन क्षेत्र भएको मनाङ, मुस्ताङ र दुई निर्वाचन क्षेत्र भएको गोरखामा दसैंअघि निर्वाचन भइसकेको छ।
लुम्बिनीका २५ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट हुँदै छ। रुकुमपूर्वमा दसैंअघि निर्वाचन भइसकेको छ। सबैभन्दा कम निर्वाचन क्षेत्र भएको कर्णालीका १२ मध्ये ८ निर्वाचन क्षेत्रमा सोमबार निर्वाचन हुँदै छ। एक–एक क्षेत्र भएको हुम्ला, मुगु, कालीकोटमा दसैंअघि र जुम्लामा आइतबार अधिवेशन भएको छ। सुदूरपश्चिमका १६ मध्ये १४ क्षेत्रमा अधिवेशन हुँदै छ।
एक–एक निर्वाचन क्षेत्र भएको बझाङ र बाजुराबाट दसैंअघि महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन्। ३२ क्षेत्र भएको प्रदेश २ मा भने सोमबार क्षेत्रीय अधिवेशन नहुने भएको छ। त्यहाँ वडा, पालिका र प्रदेश तहको अधिवेशन चलिरहेको छ।दसैंअघि १३ हिमाली जिल्लाका १४ निर्वाचन क्षेत्रबाट ३ सय ६२ महाधिवेशन प्रतिनिधि छनोट भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १४ वटा जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार अब बाँकी रहेका ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो। कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ।