काठमाडौं- आभास लामिछाने स्पेनको मड्रिडमा खेल्दै आएका खेलाडी हुन्। सहिद स्मारक ए डिभिजनको संघारमा मात्र विभागीय क्लब एपीएफले उनलाई अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै आएका उनले लिगको डेब्यू खेलमा एक एसिस्ट गरे।
पूरा ९० मिनेट नै मैदानमा विताएका खेलाडीबारे प्रशिक्षक कुमार थापा भन्छन्, ‘आभास चाहिँ मड्रिडमा खेलिरहेका खेलाडी हो। एकेडेमीमा खेलिरहेका खेलाडी ल्याएर हामीले डेब्यू गराएका हौँ। हामीले लिगअघि उसँग सम्झौता गरेका थियौँ। सनिस(श्रेष्ठ) र आभासले आज डेब्यू गरेका छन्। दुवै खेलाडीले राम्रो प्रदर्शन गरे।’ सनिसले पनि ९० मिनेट नै मैदानमा बिताए।
ब्रिगेड बोइज क्लब र एपीएफ क्लबबीचको दोस्रो हाफ सुरुबाटै निकै आक्रामक बन्यो। कारण थियो पहिलो हाफको पछिल्लो २० मिनेटको निकै ‘स्लो’ खेल। दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारि लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।
समग्रमा एपीएफको खेल कस्ता भयो त? जवाफमा थापा भन्छन्, ‘योजना अनुसार वर्कआउट भएन अनि मिडफिल्डमा गोल होल्ड भएन। नखानु पर्ने गोल खायौँ। हाम्रो चाहिँ स्कोर हुनुपर्ने गोल पनि भएन।’
खेलमा पहिलो हाफको १२ औं मिनेटमै ब्रिगेड बोइजले अग्रता बनाएको थियो। दिनेश राईले फ्रिकिकबाट गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यसको पाँच मिनेटमै एपीएफले गोल फर्कायो।
लिगमा डेब्यु गरेका अभास लामिछानेले दिएको पासको सदुपयोग गर्दै १७ औं मिनेटमा फरवार्ड आशिष लामाले गोल गरेर खेललाई बराबरीमा ल्याए।
पछिल्लो सिजनको सर्वाधिक गोलकर्ता लामाले २०७८ को सिजनको पहिलो खेलमा गोल गरे। र, खेल १–१ को बराबरी भयो। त्यसपछि दुवै टिमले डिफेन्सिभ खेलेपछि खेल ‘स्लो’ भयो। यद्यपि पहिलो हाफमा केही महत्वपूर्ण मुभ भने भएका थिए।
अट्याकिङ थर्डमा फरवार्ड लामा र लामिछाने निकै सक्रिय रहे। लामिछानेले ३९ औं मिनेटमा गरेको प्रहार भने पोस्ट नजिकैबाट बाहिरियो। २० औं मिनेटमा श्याम कुमार नेपालीको प्रहार भने गोलकिपर पूर्ण लिम्बु चेम्जोङले रोकेका थिए।
एपीएफका प्रशिक्षक थापाले योजनाअनुसार वर्कआउट नभएको बताए। उनले भने, ‘योजना अनुसारको वर्कआउट भएन अनि मिडफिल्डमा गोल होल्ड भएन। नखानु पर्ने गोल खायौँ। हामो चाहिँ स्कोर हुनुपर्ने गोल पनि भएन।’
ब्रिगेड बोइजका प्रशिक्षक सनोज श्रेष्ठले चाहिँ एपीएफविरुद्ध निकै बलियो प्रतिद्वन्दीता भएको बताएका छन्। उनले भने, ‘पहिलो जित निकै महत्वपूर्ण रह्यो। टिमलाई ठूलो राहात भएको छ।’
पहिलो हाफको अन्तिम मिनेटमा बीबीसी निकै अभागी रह्यो। कप्तान रोशन राना मगरले गरेको प्रहार पोस्टको बारमा लागेर बाहिरिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा एपीएफका आशिष लामाले गरेको प्रहार पनि त्यसरी नै बाहिरिएको थियो।
त्यसपछि दुवै टिमले अट्याकको प्रयास गरिरहे। ५५ औं मिनेटमा काउन्टर अट्याकको प्रयास असफल भएको थियो। पेनाल्टी बक्स नजिकैबाट गरेको प्रहार बहिरिएको थियो। बिबीसीका दिनेश राईले एक मिनेटभित्र गरेका दुवै प्रहार पोस्टलाई बायातर्फ छोडेर बाहिरियो।
तर राइले नै ६६ औं मिनेटमा गोल गरे। दोस्रो हाफमा मैदान पसेका सुरज गुरुङले दिएको पासलाई सदुपयोग गर्दै राईले बिबिसीलाई पुन अग्रता दिलाए। त्यो अग्रता एपीएफले ७७ औं मिनेटमा बराबरी गर्यो। रवि थिङको पासमा बिकी तामाङले गोल गर्दै खेललाई बराबरी बनाए।
यि दुवै मिडफिल्डर दोस्रो हाफमा मैदान छिरेका थिए। खेलको ७ मिनेट बाँकी रहँदा एपीएफको प्रहारलाई गोलकिपर चेमजोङले बचाएका थिए। उनले आफ्नो पहिलो गल्तीलाई सुधार गर्दै दोस्र्रो प्रयासमा मात्र बल नियन्त्रणमा लिएको थियो।
इज्युरी समयमा भुवन बस्नेतको पासमा सुरज गुरुङले गोल गर्दै पुन बिबिसीलाई अग्रता दिलाए। ३–२ गोलको अग्रतासँगै ब्रिगेडले खेल जित्यो।
एपीएफको प्रशिक्षक कुमार थापाले बाँकी खेलमा सुधार गर्ने बताए। ‘१२ खेल बाँकी छ। त्यसमा 'इम्प्रुभ' भन्छ। पछिल्लो सिजनमा ब्रिगेडसँग बराबरी भएको थियो,’ उनले भने, ‘यो हिसाबमा पछी नै हो। एक किसिमले बेइजत नै हो। उनीहरुले राम्रो गरेको हो। बुद्धि पनि इन्जुरी भएको हो। अगाडि दुई जना खेलाउने हो। आशिष लामालाई सहयोग गर्न सेन्ट्र मिडफिल्डर केही गाह्रो भएको हो।’
बिबिसीका प्रशिक्षक श्रेष्ठले प्रतिस्पर्धिको मिस्टेकमा पनि एक गोल भएको बताए। ‘पहिलो प्रिकिक किपरको रेन्जमा थियो। तर दोस्रो र तेस्रो गोल राम्रो थियो। हामीले खाएको दुई गोल पनि म्यान मर्किङ नभएर हो। ड्याडी वाम्बाले सन्तुष्टि दिने खालको खेलेनन्। उनी हार्डवर्किङ त हुन् तर इफोर्ट सहि ठाउँमा लागिरहेको थिएन्। आजको खेलमा तीन अंक नै महत्वपूर्ण रह्यो।’