काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीका औपचारिक बैठकहरुले जारी गरेका अन्तरपार्टी निर्देशन नै नेतृत्वले अस्वीकार गरेको आरोप लगाएका छन्।
आशन्न महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलमा उनले सत्ता स्वार्थका लागि जोसँग गठबन्धन गरे पनि जस्तो गठबन्धन गरे पनि हुने किसिमले पार्टी अघि बढेको अवस्थामा सर्वोच्चको आदेश अनुसार २०७७ फागुन २३ गते नेकपा विभाजन गरि नेकपा एमाले ब्युँतिएको सन्दर्भ उल्लेख गरे। एमालेलाई बलियो बनाउनका लागि आफूहरु लागे पनि पार्टी एकताको अभियानलाई नेतृत्वले नै अस्वीकार गरेको गुनासो गरे।
पार्टीको एक समूह पार्टी फुटाएर बाहिरिएसँगै संघ र प्रदेशहरुमा नेकपा एमाले सत्ताबाट बाहिरिएको उनले बताए। ‘कहाँ कसको र कुन किसिमको त्रुटी भयो भन्नेतर्फ ठण्डा दिमाग र आग्रहरहित दिमागले सोच्नु जरुरी छ। विधान महाधिवेशनबाट पार्टीको विधानलगायत संरचनात्मक प्रतिवेदनहरु पारित भए पनि त्यसका लागि जिम्मेवार नेतृत्व आवश्यक हुन्छ। पार्टी एकताका लागि गरिएको १० बुँदे समझदारी कार्यान्वयनतर्फ नेतृत्व तयार नभएको परिस्थिति छ,’ रावलले भने।