काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टी कार्यालयमा ठाउँ नपाएपछि बाहिरैबाट उम्मेदवारी घोषणा गर्नुपरेको बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालमा उम्मेदवारी घोषणा गर्न पत्रकारहरुलाई बोलाएका रावलले भने, ‘थापाथलीस्थित नेकपा एमालेको मुख्य कार्यालयबाट नै उम्मेदवारी दिने योजना बनाएको थिएँ। तर, महासचिवबाट महाधिवेशनको व्यस्तताले त्यहाँ कक्षाहरु खाली नभएको सूचना पाएँ। त्यहाँ ठाउँ खाली नभएपछि रिपोर्टर्स क्लबबाट उम्मेदवारी घोषणा गरेको हुँ।’
२०७५ साल जेठ ३ गते पार्टी एकीकरण भई नेकपा बनेपछि आन्तरिक भूमरिमा परेको प्रसंग उल्लेख गर्दै रावलले नेतृत्वदायी व्यक्तिहरु नै चरम गुटबन्दीमा लागेपछि पार्टी कमजोर भएको तर्क गरे। नेकपालाई केन्द्रसहित ६ वटा प्रदेशको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसकेको उनको भनाइ थियो।
‘पद र अवसरको भागबण्डाका कारण पार्टी थप धराशायी बन्दै गयो। पार्टीका सिद्धान्त र विचारहरुलाई सत्ताको बार्गेनिङमा बलि चढाइयो,’ रावलले भने।