काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी घोषणा गर्न उनले आज (आइतबार) अपराह्न ३ बजे पत्रकार सम्मेलन बोलाएका छन्।
महाधिवेशन आउन ५ दिनमात्र बाँकी छँदा एमाले अध्यक्षका लागि कसैले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष केपी ओली निर्विरोध जस्तै देखिएका छन्। पार्टी नफुट्दा माधवकुमार नेपाल पक्षमा खुलेर लागेका भीम रावल भने ओलीसँग भिड्ने मनस्थितिमा पुगेका हुन्।
अध्यक्ष ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्टलाई नियुक्त गरेपछि रावल रुष्ट छन्। भट्ट माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्। आफूलाई वरिष्ठ उपाध्यक्ष दिनुपर्ने माग गर्दै आइरहेका रावलले ओलीले उपाध्यक्षमै पनि राख्ने कि नराख्ने टुंगो नभएपछि अध्यक्षमा उम्मेद्धवारी दिन लागेको बताइएको छ।
यही साता महाधिवेशनकै विषयमा छलफल गर्न रावल अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए। छलफलमा रावलले दश बुँदे सहमति कार्यान्वयनदेखि महाधिवेशन प्रतिनिधि छनोटबारे कुरा गरेका थिए। ओलीले चित्तबुझ्दो जवाफ नदिएपछि रावल अध्यक्षमा भिड्ने मनस्थितिमा पुगेको बताइएको छ।