काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि आन्दोलित बनेको छ।
तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत पनि न्यायाधीशहरूले सर्वोच्च अदालत परिसरमा आन्दोलन गरेका छन्। आन्दोलनलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले २१ दिनदेखिको जारी आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआउँदासम्म जारी रहने बताएका छन्।
'न्याय किनबेच भइरहेको छ। जनताले न्याय पाउने अवस्था छैन। प्रधानन्यायाधीशले कानमा तेल हालेर बसेको अवस्था छ। हामी कानमा हालेको तेल निकाले नै छोड्ने छौं', उनले भने।
आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने उनले बताए। प्रधानन्यायाधीश जबराको वार्ताको प्रस्ताव अस्वीकार गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले भोलि संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापनपत्र/ध्यानाकर्षणपत्र दर्ता गराउने छ।
यसैगरी, मंगलबार भने कानुन व्यवसायीले हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने उनले बताएका छन्।
बुधबार भने देशभरका सबै उच्च अदालतमा बृहत् विरोध सभा गर्ने बारको उनले बताए। यसैगरी बिहीबार र शुक्रबार भने उपत्यकाका सबै बार इकाई सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठले बताए।
'अब हामी नागरिक समाज र जनतामाझ जाने छौं। जनतामाझ गएर प्रधानन्यायाधीशका कर्तुत छरलंग पार्नु आवश्यक देखिएको छ', उनले भने।