धनगढी– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत कैलालीमा भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाको बलियो उपस्थिति देखिएको छ। प्रदेश सभादेखि वडातह सम्म देउवा निकट उम्मेदवार विजयी भएका छन्।
अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन भए पनि केही ठाउँमा निर्वाचन भएको छ। कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा (क) मा मतदानमार्फत समिति चयन भएको छ। क्षेत्र नम्बर ५ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको क्षेत्र हो।
प्रदेश सभा (क) मा शनिबार भएको निर्वाचनमा सीताराम राना सभापतिमा निर्वाचित भएका छन्। उनी १४२ मतसहित सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी कुम्ब गिरीले ८६ मत पाएका छन्।
प्रदेश सभा (ख) मा सर्वसम्मत पदाधिकारी चयन भए पनि प्रदेश प्रतिनिधिमा भने सहमति हुन सकेको छैन। सात जनाका लागि १७ जनाले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन्। यद्यपि सहमतिमा ल्याउने प्रयास भइरहेको छ।
प्रदेश सभा (ख) मा केशवराज जोशी सभापतिमा निर्विरोध चयन भएका छन्। सभापतिका लागि चार जनाको उम्मेदवारी परे पनि अन्यले फिर्ता लिएपछि जोशी सभापतिमा चयन भएको निर्वाचन समितिले जनाएको छ।
५ निर्वाचन क्षेत्र रहेको कैलालीमा १० प्रदेश सभा छ। कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा प्रशुराम महतो कठरिया र प्रदेश सभा (ख) मा बलिराम चौधरी निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा भीम जैसी र (ख) मा तेज प्रकाश मल्ल सभापतिमा निर्वाचित भएका छन्। निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (क) मा रामप्रसाद चौधरी र (ख) मा कमलराज चौधरी क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा (क) मा काशिराम शर्मा निर्वाचित भएका छन् भने प्रदेशसभा (ख) मा गोपालदत्त भट्ट निर्वाचित भएका छन्। निर्वाचित सबै प्रदेश सभा सभापतिहरु सभापति देउवा निकट रहेको एक नेताले बताए।
प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन्। कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ।
सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्नेछन्। यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल–माथि हुनेछ।
प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएलगत्तै सोमबार प्रतिनिधिसभा क्षेत्रमा अधिवेशन हुनेछ। सो अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन धनगढीको ओम प्यालेसमा गरिने पार्टी सभापति नरनारायण शाह (मनु) ले बताए।
कैलालीका सबै पालिकामा देउवा प्यानल
नेपाली कांग्रेस कैलालीको १३ वटै पालिकामा सभापति शेरबहादुर देउवा पक्षका सभापति निर्वाचित भएका छन्। कात्तिक ३० गते भएको पालिका अधिवेशनबाट जिल्लाको सबै पालिकामा देउवा पक्षका सभापति निर्वाचित भएका हुन्।
सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीको सभापतिमा यज्ञराज उपाध्याय, गौरीगंगा नगरपालिकामा पहलविक्रम चन्दको प्यानल, लम्किचुहा नगरपलिकामा इन्द्र कुँवरको प्यानल, टीकापुर नगरपालिकामा नरेश खत्रीको प्यानल, भजनी नगरपालिकामा नवराज मिश्रको प्यानल निर्वाचित भएका छन्।
यस्तै चुरे गाउँपालिकामा हेम शाहको प्यानल, जानकी गाउँपालिकामा गणेश रेग्मीको प्यानल, बर्दगोरिया गाउँपालिकामा कृष्ण विष्टको प्यानल, कैलारी गाउँपालिकामा कृष्ण चौधरी, मोहन्याल गाउँपालिकामा कमल साउँदको प्यानल, जोशीपुर गाउँपालिकामा वंशराम चौधरी निर्वाचित भएका छन्।
गोदावरी नगरपालिका वीरवहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा वमवहादुर सिंहको प्यानल निर्वाचित भएको नेपाली कांग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृपबहादुर सुनारले बताए।
वडा सभापति र क्षेत्रीय प्रतिनिधिमा देउवा पक्षधर धेरै
कैलालीका एक सय २६ वडामा भएको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वर्चस्व देखिएको छ।
जिल्लाबाट दुई हजार चार सय २७ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार आठ सय ८२ क्षेत्रीय प्रतिनिधि देउवा पक्षधर रहेको नेपाली कांग्रेस कैलालीका एक नेताले बताए। उनले भने, ‘रामचन्द्र पौडेल पक्षका चार सय ८२, शशांक कोइराला पक्षका १७, विमलेन्द्र निधि पक्षका आठ, कृष्ण सिटौला पक्षका १९, प्रकाशमान सिंह पक्षका सात र नखुलेका १२ जना रहेका छन्।
यस्तै एक सय २६ वडा अध्यक्षमध्ये ९८ जना देउवा पक्षधर रहेको ती नेताले बताए। कैलालीको मोहन्याल गाउँपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिका पौडेल पक्षको उपस्थिति देखिएको छ। कैलारी गाउँपालिकामा पौडेल पक्षको उपस्थिति शून्य रहेको बताइएको छ।