काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भयो। उसले वाटफोर्डको मैदानमा घरेलु टिमसँग ४–१ गोलको हार बेहोर्दा लिगका पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएको छ।
यनाइटेडले पछिल्ला ५ खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ। यसको इतिहास र टिममा खेलाडीको कौसल हेर्दा त्यो निकै दुखद र लज्जास्पद अवस्था हो। यससँगै युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर ठूलो दबाबमा छन्।
किनभने उनको टिमाले सिजन सुरु भएयता ७ खेलमा हार बेहोरिसकेको छ। युनाइटेडका गोलकिपर डेबिड डी गियाल पनि हारको यो शृङ्खला टिमको लागि लज्जास्पद रहेको बताए। उनले भने, ‘यो निकै लज्जास्पद अवस्था हो, जसरी हामीले आज खेल्यौं।’
युनाइटेडले धेरै कमजोर प्रदर्शन गरेको पहिलो हापमा उसले दुई गोलको सामना गरेको थियो। त्यसक्रममा युनाइटेडले एक गोल पनि फर्काउन सकेन। ‘पहिलो हाफमा धेरै कमजोर साबित भयौँ। यो क्लबका लागि त्यो प्रदर्शन खेलाडीका लागि त्यो स्तरको खेल कदापि स्वीकार्य छैन,’ उनले भने, ‘यो अर्को दुस्वप्न हो। हामीसँग केही अप्ठ्याराहरू अवश्य होलान् तर ती अप्ठ्यारालाई कसरी बयान गर्ने थाहा छैन।’

शनिबार रातिको खेलमा युनाइटेडले दोस्रो हाफको ५०औं मिनेटमा गोल फर्काएर २–१ गोलअन्तर बनाएको थियो। तर ६९ औं मिनेटमा डिफेन्डर ह्यारी मग्वायर मैदानबाट बाहिरिएपछि टिम पुन दबाबमा आयो। खेलको इन्ज्युरी समयमा वाटाफोर्डले युनाइटेडको पोस्टमा पुनः दुई गोल बर्सायो।
वाटाफोर्डका लागि जोसुवा किंग, इसमाइला सार, जोआ पेड्रो र इम्यानुयल बोनाभेन्टरले गोल गरे। युनाइटेडका लागि एक गोल डोनी भान डी विकले गरे। ‘म यो क्लबसँग धेरै अप्ठ्यारो अवस्थामा छु समग्रमा क्लब पनि अप्ठ्यारो अवस्थामा छ। हामीलाई थाहा छैन कि मैदानमा बलसँग के गर्ने हो। हामीले धेरै गोल खाइरहेका छौं। यो एउटा भयानक क्षण हो।’
उनले प्रशिक्षक र स्टाफले भन्न सजिलो भए पनि मैदानमा खेलाडीका लागि गोल गर्न र गोल बचाउ गर्न गाह्रो परिरहेको बताएका छन्। उनले अहिले ड्रेसिङ रुमको अवस्था पनि किनै कष्टकर रहेको बताएका छन्। ‘हामी दुखी र क्रोधित छौं। व्यक्तिगत रूपमा मलाई मनमा चोट लागेको छ,’ उनले भने।
अहिले म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक सोल्सायरलाई बर्खास्त गर्ने हल्ला चलिरहेको छ। युनाइटेडको सामाजिक सञ्जालका पोस्टहरूमा उनलाई बर्खास्त गर्न माग चलिरहेको छ। यता क्लबमा स्टाफ र खेलाडीको मनमा पनि त्यो रहेको हुनसक्ने बीसीसीले विश्लेषण गरेको छ।
१७ अंक रहेको युनाइटेड यो हारसँगै ईपीएल तालिकाको सातौं स्थानमा छ।