काठमाडौं- नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा मनोमानी गरिएको भन्दै पूर्वराज्यमन्त्री ओमप्रकाश यादवले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
रुपन्देहीको मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा शनिबार पत्रकार सम्मेलन गरी यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन्। उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन्।
उनले जिल्लामा काम गर्न आफूलाई जिल्ला अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोपसमेत लगाएका छन्।
एमालेको १० औं महाधिवेशन चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म हुने भएको छ। त्यसका लागि देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधि छनोट गर्ने काम भइरहेको छ। प्रतिनिधि छनोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकछत्र हस्तक्षेप गरेको आरोप लागिरहेको छ।