शुक्रबार, भदौ ५, २०८३

मौलिक परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अबलम्बन गरेका नीतिहरुका आधारका साथै विश्व परिवेशमा आएको फेरबदल तथा भूराजनीतिक अवस्थाअनुसार राष्ट्रिय हीतलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको उल्लेख गरे। 

विश्वका शक्ति राष्ट्रहरुबीचको होडबाजीका कारण परराष्ट्र नीतिलाई  रणनीतिक र सन्तुलित ढङ्गबाट अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी तेस्रो मुलुक तथा छिमेकी मुलुक भारत र चीनको समृद्धिबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘सबैलाई समान दृष्टिबाट हेर्न र व्यवहार गर्न सक्नुपर्छ, राष्ट्रिय हीत यसैमा हुन्छ र हाम्रो उद्देश्य पनि पूरा हुन्छ।’ छिमेकी मुलुकसँग कुनै समस्या भए द्वन्द्वको रुपमा नभई कुटनीतिकरुपमा समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिए। 

विगतमा विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताका मूलप्रति संग्रहित हुन नसक्दा हाम्रा महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरु संरक्षण हुन नसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा खड्काले विभिन्न पुस्तकालयहरुबाट बेचिएका, चोरिएका वा हराएका बहुमूल्य ग्रन्थहरु खोजी भइरहेको बताए। नेपालको बारेमा स्वदेशी लेखकहरुले लेखेका कृतिका बारेमा भन्दा विदेशीले लेखेका कृतिलाई महत्व दिने र आधिकारिक मान्ने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाइ थियो। विश्वविद्यालयमा रहेका सिनासजस्ता प्राज्ञिक संस्थालाई साधन र स्रोतसम्पन्न गरी अनुसन्धानका कार्यहरु सोही संस्थामार्फत गराउन सरकार प्रतिवद्ध रहेको मन्त्री खडकाले बताए। 

पूर्व परराष्ट्रमन्त्री तथा नेकपा(एमाले)का नेता प्रदीप ज्ञवालीले बदलिंदो विश्व परिवेशमा नेपालले राष्ट्रिय हीत, असंलग्नता, विवादको शान्तिपूर्ण समाधान र मित्रराष्ट्रहरु नेपालबाट के चाहन्छन् भन्ने कुरा बुझेर अगाडि बढ्न सक्न पर्नेमा जोड दिए। शीतयुद्धमा अमेरिका र तत्कालीन सोभियत रुससँग समान रुपमा सम्बन्ध कायम गरी सहयोग लिन सकेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा पनि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनसँग पनि समान सम्बन्ध स्थापित गरी बढीभन्दा बढी लाभ लिन सक्नुपर्ने बताए। 

पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्रका नेता राम कार्कीले मुलुकको एकीकृत परराष्ट्र रणनीति नहुँदा एमसिसी, बिआरआईजस्ता सहयोग सम्झौताहरु विवादमा आएको उल्लेख गर्दै राजनीतिक दलहरुबीच विकासको स्पष्ट नीति  बन्न नसकेसम्म आगामी दिनमा पनि यस्ता विवादहरु सिर्जना हुने र त्यसले आपसी सम्बन्धमा पनि असर पुग्ने बताए। उनले समाजवादी र वैज्ञानिक शिक्षा प्रणाली नहुँदा युवा जनशक्ति पलायन हुनाका साथै यसले मुलुकलाई कहिल्यै समृद्धितर्फ लैजान नसक्ने बताए। नेता कार्कीले चीन र भारत शक्ति राष्ट्रिको रुपमा उदय भएसँगै पूँजीवादतर्फ उन्मुख हुँदै गएका बेलामा नेपालले कसरी आफ्नो अस्तित्व कायम राख्ने भन्ने विषयमा बुद्धिजिवीहरुले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताए। 

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले अहिले विश्वको स्वरुप बदलिएको अवस्थामा नेपालले आफ्नो पहिचानलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुकहरु शक्ति राष्ट्रको रुपमा अगाडि बढिरहेको अवस्थामा भूराजनीतिक स्थितिलाई ख्याल गरी सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सुझाव दिए। 

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले मुलुकको मौलिक विदेश नीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा, विदेश नीति र कुटनीति अत्यन्त गम्भीर विषय भएकाले यसमा केन्द्रले आन्तरिक स्रोतबाटै अनुसन्धानका कामहरु अगाडि बढाउने बताए। उनले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग अलगअलग सम्वाद गरी साझा अवधारणा तयार गर्न सिनासले पहल गर्ने जानकारी दिए। 

प्रकाशित: Nov 20, 2021| 17:25 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...