कास्की- सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ। प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नम्बर १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन्। यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की कांग्रेसले जनाएको छ ।
क्षेत्र नम्बर २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भएका हुन्। उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टङ्कप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भएका छन्।
यसैगरी क्षेत्र नम्बर २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए। उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिव सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन्।
कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन्। उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन्।
क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएको जनाइएको छ।