काठमाडौं- नेकपा माओवादी केन्द्रले शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ।
माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन्। त्यससँग माओवादीको देशभर एकसाथ वडा अधिवेशन प्रारम्भ हुनेछ।
देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएर माओवादी केन्द्र वडाधिवेशनमो होमिएको छ। निर्वाचनका लागि माओवादी केन्द्रीय निर्वाचन आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।
माओवादी केन्द्रको ११ मंसिरमा पालिका र २५ मंसिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ। आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ। प्रदेशको सम्मेलनपछि आगामी ११ देखि १३ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ।