दुईतीन दिन स्कुल बिदा हुनासाथ छोराछोरी के गरी हेर्ने होला भन्ने चिन्ता नेपाली सहरी आमाहरूलाई हुने गरेको छ।
छोराछोरी हेर्ने मुख्य जिम्मा महिलाको मात्र हो भन्ने बुझाइ र सोही अनुसारको अभ्यास समाजमा छ। छोराछोरी स्कुल पठाइदिए तीनलाई बेलाबेला ख्वाउनु, प्याउनु र स्याहार्नु नपर्ने हुँदा केहीबेर भए पनि ढुक्क हुन्छ भन्ने आमबुझाइ छ।
फेरि, घरमा बच्चाबच्ची चलेर, फोहोर गरेर, झगडा गरेर दिक्क लगाउने गर्दा महिलाहरू आजित भएका हुन्छन्। त्यसैले पनि स्कुल पठाउन पाए आनन्द हुन्थ्यो भन्ने सोच छ। त्यही भएर दुई वर्ष पुग्दा नपुग्दै छोराछोरीलाई मन्टेश्वरीमा हाल्ने गरिएको छ। यसो हेर्दा कुरा सही जस्तो पनि देखिन्छ किनभने बालबच्चा हेर्न सजिलो छैन।
स्कुलमा म्यामहरूसँग बच्चाबच्ची डराउने हुँदा चकचक गर्दैनन्, चल्दैनन् भन्ने ठानिन्छ। त्यही भएर बालबालिकाले घरमा चकचक गरे भने आमाबाबुले ‘पख अब म म्यामलाई भन्दिन्छु’ भन्ने गरेका हुन्।
बालबालिकालाई हेर्नु भनेको उनीहरूलाई कुनै न कुनै काममा अल्झाउनु हो। त्यसको लागि उनीहरूसँग नजिक हुनुपर्छ र के कसो गर्दा उनीहरूलाई भुलाउन सकिन्छ त्यही गर्नुपर्छ।
१२–१३ वर्षभन्दा मुनीका बालबालिकालाई शारीरिक खेलकूदले नै आकर्षित हुन्छन्। त्यस्तै खालको खेलले उनीहरूलाई अल्झाउन सकिन्छ।
तर, बालबालिकालाई घरबाहिर निस्कन नहुने विषम परिस्थिति भएमा आफैं संलग्न भएर खेलमा अल्झाउँदै भुलाउनु पर्ने हुन्छ।
धेरैले आफ्ना सन्तानको लागि केही न केही खेलौना किनिदिएकै हुन्छन् तर उनीहरूसँगै खेल्ने फुर्सद नहुने अभिभावक बढ्दैछन्। बच्चाबच्चीसँग खेल्नु उनीहरूसँग नजिक हुने स्वर्णिम समय हो।
घरमा बजारबाट किनेर ल्याएको चुँगी छैन भने पनि झुत्रो कपडा र पुराना टालाटुली जोडजाड गरेर चुँगी बनाउन सकिन्छ। खेल्ने क्रममा उनले कसरी हात, खुट्टा चलाएका छन्। शरीरलाई कसरी चलाएका छन् त्यसलाई विश्लेषण गरेर सुधार गर्नुपर्ने ठाउँमा आफूले जानेको शारीरिक सीप सिकाउन सकिन्छ।
के गरी उनीहरूसँग नजिक हुन सकिन्छ छ त ? केही उपाय बारे चर्चा गरौं।
ब्याडमिन्टन
साना बालबालिकालाई घरमा भएको ब्याडमिन्टन खेलाउँदै भुलाउन तथा उनीहरूसँग नजिक हुन सकिन्छ।
ब्याट छैन भने सामान प्याक गर्ने कार्टुन बाकसलाई काटेर ब्याट बनाउन सकिन्छ। दुई पत्र कार्टुन कागज टाँस्दा दशबाह्र दिन मजाले चल्ने ब्याट बन्छ।
घरमा यदि काम नलाग्ने प्लाइबोर्ड छ भने त्यसलाई काटकुट गरेर पनि ब्याट बनाउन सकिन्छ। कर्क वा बलको लागि थोत्रा कपडा प्रयोग गर्न सकिन्छ।
कर्क प्रहार गर्ने, आफूतिर आएको कर्कलाई ‘जज गरेर’ सट फर्काउने सीप सिकाउन सकिन्छ। बालबालिकाको शारीरिक तन्दुरुस्ती र मानसिक अवस्थालाई सुधार गर्न यसले धेरै ठूलो मद्दत गर्दछ।
चुँगी
घरमा बजारबाट किनेर ल्याएको चुँगी छैन भने पनि झुत्रो कपडा र पुराना टालाटुली जोडजाड गरेर चुँगी बनाउन सकिन्छ। खेल्ने क्रममा उनले कसरी हात, खुट्टा चलाएका छन्। शरीरलाई कसरी चलाएका छन् त्यसलाई विश्लेषण गरेर सुधार गर्नुपर्ने ठाउँमा आफूले जानेको शारीरिक सीप सिकाउन सकिन्छ।
हुनसक्छ उनले नै बाआमालाई सिकाउन पनि सक्लान्। बाआमालाई सबैथोक जान्ने, सबैथोक गर्नसक्ने बुझाइ भएको बाल्यावस्थामा बाआमालाई नै सिकाएँ भने बोध हुनु उनीहरूको लागि कत्ति ठूलो महत्त्वको कुरा हुनजाला यसो सोच्नुस् त ?
त्यसैगरी, बालबालिकासँग खेलेर उनीहरूलाई नै जित्ने अवसर बनाइदिनु भनेको उनीहरूको मानसिक विकासको लागि ठूलो योगदान दिनु हो। उनीहरूको आत्मविश्वास यसरी नै क्रमिक रूपमा विस्तार हुँदै जाने हो। त्यसैले बालबच्चालाई धेरैभन्दा धेरै खुसी राख्न मनोचिकित्सकहरू सिफारिस गरिरहन्छन्।
शारीरिक अभ्यासको फाइदा
शारीरिक अभ्यासले शरीरका कोषकोषमा अक्सिजनको मात्रा आपूर्ति गर्छ र शरीरलाई स्फूर्ति राख्छ। शारीरिक अभ्यासले शरीरमा भएका अनावश्यक टक्सिनहरू बाहिर निकाल्छ र शरीरलाई स्फूर्त राख्छ। शरीरमा हुने रासायनिक प्रतिक्रियाका बाइप्रोडक्टका रूपमा रहेको पुराना टक्सिन शारीरिक अभ्यासका कारण रक्तसञ्चारको उच्च प्रवाहमार्फत श्वास तथा मुत्रप्रणलीबाट बाहिर निस्कन। यसले शरीरलाई तरोताजा बनाउँछ। यसले मानिसमा सकारात्मक ऊर्जा भर्छ। त्यही भएर खेलकुदको विश्वव्यापी महत्त्व स्थापित भएको हो।
यसले मानसिक रूपमा पनि मान्छेलाई सबल बनाउँछ। त्यसैले पनि परिवारबाट टाढा बस्ने सैनिक, प्रहरी तथा होस्टेलमा बस्ने विद्यार्थीहरूलाई खेलकुदमा बढी संलग्न गराउने गरिन्छ।
डिप्रेसन ग्रसित अधिकांशको एउटा अनुभव छ– बाबुआमासँगको दूरी। बाबुआमासँगको दूरीले गर्दा भावनाको आदानप्रदान हुन नपाउँदा मानसिक समस्या बल्झिँदै गएको अनुभव कतिपयले सुनाएका छन्।
फुटबल खेलाडी अच्युतकृष्ण खरेलले खेल्न पाइन्छ भनेर नै प्रहरीमा भर्ना भएका थिए तर उनी खेलमा मात्र सीमित भएनन्। प्रहरीको उपल्लो दर्जासम्म पुगे। उनले आफ्नो कुरा ‘अच्युतकृष्ण खरेल’ आत्मकथामा सविस्तार लेखेका छन्। त्यसैले कुनै कुराको सुरुवात बारे भन्न सकिन्छ, टुंगो कहाँ पुग्छ कसलाई के थाहा ?
सन्तानसँगको निकटता
घरमा गरिने विभिन्न शारीरिक अभ्यासले बच्चाबच्चीसँग निकटता बनाउन मद्दत गर्छ।
डिप्रेसन ग्रसित अधिकांशको एउटा अनुभव छ– बाबुआमासँगको दूरी। बाबुआमासँगको दूरीले गर्दा भावनाको आदानप्रदान हुन नपाउँदा मानसिक समस्या बल्झिँदै गएको अनुभव कतिपयले सुनाएका छन्।
त्यसैले, अहिलेको अवस्थामा विभिन्न घरायसी खेलकुदबाट आफ्ना सन्तानसँग निकट हुन सकियो र बाबुआमाले आफ्ना सन्तानलाई ‘हामी पनि तिमीहरूको साथी हौं’ भन्ने भाव दिनसके सन्तान र बाबुआमा बीचको दूरी मेटिन्छ।
बाबुआमा र सन्तानबीचको दूरी प्रायः बाल्यकालमै बन्ने भएकाले सानो उमेरका बालबालिकालाई बाबुआमाको साथ र सहयोगको खाँचो अत्यधिक हुन्छ।
हामी आफैंले पनि त बाबुआमासँग खेल्दै, ठट्टा गर्दै, नजिक हुँदै हुर्कन पाएको भए कति भाग्यमानी अनुभव गर्थ्यौ होला, होइन र ? त्यसैले सन्तानसँग नजिक हुन पाउने प्रत्येक अवसरलाई उपयोग गर्नु पर्दछ।
बाबुआमा र सन्तानको दूरी
पत्रकार विजयकुमार पाण्डेले आफ्नो पुस्तक ‘खुसी’मा आफूले काममा मात्र ध्यान दिँदा आफ्ना छोरीहरूको रुचि र सोखबारे थाहै नपाएको बताउँदै बुबाको भूमिका राम्रोसँग निभाउन नसकेको पीडाबोध गरेका छन्।
के तपाईंले कहिल्यै आफ्ना हुर्केका सन्तानसँग ब्याडमिन्टन, चुँगी खेल्नुभएको छ? खेलेर उनीहरूलाई जित्न दिनुभएको छ? उनीहरूजस्तै उनीहरूको साथी बन्नुभएको छ?
विख्यात गायक माइकल ज्याक्सनले सानैबेलादेखि आफू बुबाहरूसँग गीतसंगीतको काममा हिँड्नु परेकाले बाल्यकालमा अरू साथीहरूले जस्तो खेल्नवर्न नपाउँदा बाल्यकालमा सधैं कुण्ठा भोगेको कुरा आफ्नो पुस्तक ‘मुनवाक’मा व्यक्त गरेका छन्। आफ्ना बाबुआमाले किन आफूलाई अरू बालकले जस्तै खेल्ने मौका नदिई काममा मात्र लगाए भन्ने कुराले लामो समय आफूलाई बाबुआमा प्रति नकारात्मक विचार आएको र आफ्नो मनोदशा ठिक नभएको अनुभव माइकल ज्याक्सनले गरेका थिए।
नयाँ प्रयास, नयाँ सुरुवात
कनुैबेला पुलचोकको मदन स्मारक स्कुलको कक्षामा बिहानबिहान भ्याली क्याम्पसले कक्षा चलाउँथ्यो। ३६ वर्षअघि सन् १९८६ मा प्रा. डा. सुरेशराज शर्मा आइएस्सी पढाउन त्यतिबेलाको भ्याली क्याम्पसको कक्षाकोठामा गए।
त्यतिबेला विश्वकप फुटबल चलिरहेको थियो। रातभर फुटबल हेरेर आएका विद्यार्थी निद्राले ग्रसित थिए। शर्माले विद्यार्थीको अवस्था देखेर पाठ पढाएनन् बरु फुटबलकै कुरा गरिदिए।
त्यो दिन त अरू बेला हुने गाइँगुइँ हल्ला पनि भएन। सब चुपचाप। सबै विद्यार्थीले एकाग्र भएर सुरेश सरको फुटबल प्रवचन सुन्न थाले। धेरैले आश्चर्य माने, साइन्सको टिचरलाई फुटबलको धेरै कुरा थाहा रहेछ। दुवैलाई नयाँ अनुभव भयो। विद्यार्थी सरसँग खुल्न थाले। डर केही कम भयो।
के तपाईंले कहिल्यै आफ्ना हुर्केका सन्तानसँग ब्याडमिन्टन, चुँगी खेल्नुभएको छ? खेलेर उनीहरूलाई जित्न दिनुभएको छ? उनीहरूजस्तै उनीहरूको साथी बन्नुभएको छ?
खेल्नका लागि उनीहरूका साथी छँदैछन् नि भन्ने तपाईंलाई लाग्ला। तर एक पटक आफैं उनीहरूको साथी बनेर हेर्नुस्। एउटा नयाँ प्रयास थाल्नुहोस्। यो तपाईंले आफ्ना बच्चासँग नजिक हुन पाउनुभएको अवसर हो। जीवनको नयाँ अध्याय खोल्ने अवसर हो।