काठमाडौं- १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्बसँग गोलरहित बराबरी खेलेको छ। दशरथ रंगशालामा शुत्रबार सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।
खेलको ७६औं मिनेटमा फ्रेन्ड्सका रोनेल एन्थोनी पउलले सातदोबाटोका सुशील राईमाथि फल गरेपछि दोहोरो पहेँलो कार्ड पाउँदै उनी मैदानबाट बाहिरिएका थिए।
फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र भन्छन्, 'हामी १० मा भएपनि राम्रो खेलेका थियौँ। तर पनि त्यो कार्डले ठूलो घाटा भयो। विदशी एग्रेसिभ खेल्छ। उनीहरुलाई सम्झाए पनि आक्रामक खेल्ने गरेका छन्।’
सातदोबाटोका प्रशिक्षक मेघराज केसीले तीन अंकका लागि खेले पनि खाली हात नभएको बताए बताएका छन्। ‘३ अंक नजोडे पनि सुरुआतमा केही न केही त पायौँ। तर प्रतिस्पर्धी हेरेर तीन अंक पाउनु पर्ने थियो। टिमको प्रदर्शनबाट सुन्तुष्ट छु। जित ननिकाले चाहिँ दुख लागेको छ,' उनले भने, 'धेरैले पहिलो पटक ए डिभिजन खेलेको छ। पाएको अवसरका केही प्रतिसत पनि सदुपयोग गर्नुपर्छ भन्ने आज लागेको छ।’
प्रशिक्षक मेघराज केसीले भने १० खेलाडीमा समेटिएको टिमविरुद्ध फाइदा उठाए पनि सफल नभएको बताए। उनले भने, ‘विपक्षीमा एक खेलाडी कम हुँदा पनि हामीले फाइदा उठाएको हो तर कुनै प्रयास सफल भएनन्। हाम्रो मूख्य खेलाडी भनेको मार्टिन हो।’
सहिद स्मारक ए डिभिजन लिगको डेब्यू खेलको पहिलो हाफमा राम्रो सुरुआत गरे पनि उसले गोल भने गर्न सकेन। प्रतिद्वन्द्वी फ्रेन्ड्स क्लबमाथि सुरुआति मिनेटमा गोलको केही अवसर सिर्जन गरे पनि प्रशिक्षक मेघराज केसीको टिमले पहिलो हाफमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो।
खेलको १७ औं मिनेटमा फ्रेन्ड्का अनिल महर्जनले सातदोबाटोका मिडफिल्डर सिफामन्डेला एस’सेलोमाथि फल गरेपछि उनले पहेँलो कार्ड पाए। इता सिफमन्डेला भने घाइते हुँदै मैदान बाहिरिएका थिए।
खेलको १२औं मिनेटमा कप्तान मान बहादुर तामाङको पासलाई सुसिल राईले पोस्टमा प्रहार गर्नबाट चुकेका थिए। त्यस्तै खेलको ३३औं मिनेटमा कप्तान तामाङको फ्रीकिकलाई आकाश बुढा मगरले पोस्टको दिशातर्फ मेडे पनि बलले पोस्टलाई तल छोडेर मैदान बाहिरिएको थियो।
यता फ्रेन्ड्सले केही राम्रा मुभहरु बनाए पनि उसले गोल गर्न सकेन। ४५औं मिनेटमा मार्टिन्स कयोडी अजेयीले प्रहार गरे पनि उनी अफसाइड रहे। साथै बल बारमा लागेका बाहिरियो। यससँगै पहिलो हाफमा दुवै टिमले गोलको असफल प्रयास गरिरहे।
फ्रेन्ड्का प्रशिक्षक मिश्रले आफ्नो टिमलले तयारी अनुसार पहिलो हाफ नखेलेको बताए, उनले भने, ‘दोस्रो हाफमा राम्रो खेल्यौँ। पहिलो हाफमा केही दबाब बनाए पनि हामीले २,३ पटक गोलको अवसर बनायौँ। तर गोल भएन।’
दोस्रा हाफमा सातदोबाटोले लगातार दबाब बनाइरह्यो। सुशील राईले ५६औं मिनेटमा, आकाश बुढा मगरले ५७औं मिनेटमा पोस्ट नजिकैबाट गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर राउल रामचन्द्र यादवले बचाएका थिए।
यता ५२औं मिनेटमा फ्रेन्ड्का फरवार्ड जोमुओल एन्थोनी फ्रान्कोइसले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। त्यस्तै ६६ औं मिनेटमा उनको प्रहार भने डिफेन्डर पिटर सेगुनले बचाएका थिए।
फ्रेन्ड्सको गोलपोस्टमा बलियो बनेका गोलकिपर भारती यादवले ७३औं र ७५औं मिनेटमा पनि सातदोबाटोको प्रहार बचाएका थिए। ८८औं मिनेटमा पासाङ लामाको 'नियर पोस्ट' प्रहार पनि सहजै नियन्त्रणमा लिए।
यता ७६औं मिनेटमा १० खेलाडीमा समेटिएको फ्रेन्डसले दबाब बनाउन सकेन। तर उसले काउन्टर अट्याकको प्रयास गरे पनि गोल गर्न भने सकेन।
यसँगै दुवै टिमले अंकतालिकामा १–१ अंक बाँडेका छन् भने २५–२५ पुरस्कार रकम बाँडेका छन्। खेलमा फ्रेन्ड्स क्लबका गोलकिपर राउल रामचन्द्र यादव म्यान अफ दि म्याच बने।
खेपछि प्रशिक्षक मेघराजले भने, ‘हामीले मैत्रीपर्ण मात्र खेल खेलेर आएकोले खेलाडी केही कच्चा छन्। कुनै सटहरु पूर्ण सफल थिएनन्। तर हामीले प्रतिस्पर्धि टिमलाई दबाब दिएर खेल्यौँ हामी सुधार गरेर अर्को खेलमा आउने गर्छौं। अभ्यासमा दिएको ५० प्रतिसत पनि आज दिन सकेका छैनन। अर्को खेलमा सुधार हुनेमा विश्वस्त छौं।’
उनले अब खेलाडीलाई कमब्याक गराउने बताए। उनले भने, ‘हामी अब पहिलो पटक लिग खेलेको भनेर खेल्दैनौ। हामी दाबेदार भएर खेल्छौं। यो खेलबाट लेसन लिएर खेल्छौं।’
आज विहे भएकाले फ्रेन्ड्स क्लबका विकास बुढाथोकीले खेलेनन्। मिश्रले भने,‘हामी नयाँ खेलाडीलाई डेब्यू गराउँदै लान्छौं। सातदोबाटो टिम राम्रो नै हो। नयाँ टिमको जोस छ।’