काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय योगगुरु रामदेव आफूजस्तै भएको टिप्पणी गरेका छन्। आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले रामदेवकै सामु आफ्नो तुलना उनीसँग गरेका हुन्।
रामदेव पनि वैज्ञानिक र आफूजस्तै क्रान्तिकारी भएको उनले बताए। आफूसँग निकटता बढ्दै जाँदा रामदेवप्रति हेर्ने आफ्नो दृष्टिकोण फेरिएको प्रचण्डले सुनाए। भने, ‘बाबा रामदेव नभेट्दा रुढीवादी, अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। मजस्तै क्रान्तिकारी हुनुहुँदो रहेछ। योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट समाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’ नेपाल हिमालको काखमा भएकाले जडीबुटीको भण्डार समेत भएकाले त्यसलाई पतन्जलीका माध्यमबाट प्रयोगमा ल्याउनुपर्ने प्रचण्डले बताए।
रामदेव र आचार्य बालकृष्णद्वारा सञ्चालित आस्था टेलिभिजन र पतन्जली टेलिभिजनको उद्घाटन कार्यक्रममा बोल्दै थिए प्रचण्ड।
मण्डीखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा देउवासहित कांग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन्। उद्घाटन कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि भर्चुअल माध्यमबाट सहभागी भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पतञ्जलीलाई जग्गा उपलब्ध गराउने बताए। पतञ्जलीलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै उनले जग्गा उपलब्ध गराउने जानकारी दिएका हुन्। योग आयुर्वेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे।
हिजो बिहीबार काठमाडौं उत्रिएका रामदेव लगत्तै प्रचण्ड निवास खुमलटार पुगेका थिए।