काठमाडौं– पहिलो पटक चार स्थानमा आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिग यही मंसिर ३ गते शुक्रबारबाट सुरु हुँदैछ। १४ क्लबको सहभागिता रहेको लिग सिंगल राउन्ड रोबिन शैलीमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।
चार स्थानमा हुने तयारी गरिए पनि सुरुआति दुई राउन्डका खेल भने दशरथ रंगशालामा नै हुनेछ। र, भोलि पौने ५ बजे हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्नेछ।
लिगको अघिल्लो दिन बिहीबार पत्रकार सम्मेलन गर्दै सबै क्लबहरुले आफ्ना आयोजनाबारे जानकारी दिएका छन्। तर, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको क्लब हिमालयन शेर्पाका प्रतिनिधि भने पत्रकार सम्मेलनमा उपस्थित भएनन्।
लिगका लागि कुन क्लबको तयारी कस्तो ?
फ्रेन्ड्स क्लब
प्रशिक्षक मृगेन्द्र प्रसाद मिश्र
हामीले लिगको लागि ४० दिनको तयारी गरेका छौं। अभ्यास राम्रो भएको छ। तर लिगमा पहिलो कुरा नै सुरक्षित भएर खेल्नु हो। सुरक्षित यो अर्थमा कि, यो वर्ष दुई रेलिगेसन जोन छ। त्यसबाट बच्ने कोसिस गर्नुपर्ने छ। त्यसपछि मात्र राम्रो गर्ने लक्ष्य हुनेछ। फ्रेन्ड्सको लक्ष्य नै आफू सेभ भएर खेल्ने हो। हाम्रो अधिकतम लक्ष्य ६ वा ७ औं स्थान नै हो।
सातदोबाटो क्लबसँग हाम्रो पहिलो खेल छ। त्यो ए डिभिजन लिगमा नयाँ क्लब हो, त्यसमा जोश पनि छ। पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने सोच छ।
कप्तान सुरज बिके
लिगमा दबाब सबैलाई हुन्छ। हामीलाई पनि छ। कप्तान भएपछि टिमलाई पनि सम्हाल्नुपर्छ। समग्रमा दबाब भए पनि सम्हालेर मैदानमा उत्रने हो। हाम्रो टिम राम्रो छ। तयारी पनि राम्रो गरेका छौं।
लिगको पहिलो खेलमा राम्रो प्रदर्शन गर्छौं। हामीले उद्घाटन खेल्ने अवसर पाएका छौं। खेल लिगको सुरुआत भएकाले हामी तीन अंकका लागि खेल्छौं।
जावलाखेल युथ क्लब
प्रशिक्षक किशोर कुमार केसी
लिगको तयारी राम्रो छ। लक्ष्य चौथो स्थानमा रहने हो। त्यो भन्दा माथि जाने गरि तयारी गरेका छौं। विदेशी र भारतीय खेलाडी राम्रा रहेका छन्। त्यसले कम्बिनेसन र कम्युनिकेसनमा पनि राम्रो नै भएको छ।
कप्तान जनक कार्की
लिगको खेलका लागि मेन्टल्ली र फिजिकल्ली तयार छौं। त्यही अनुसारको तयारी पनि छ। पहिलो खेल नै मनाङसँग छ। त्यसलाई लिएर उत्साहित छौं। हामी पनि आउँदा मनाङलाई राम्रो ब्याटल गर्ने भनेर सोचेका छौं। पहिलो नै ठूलो टिम प्रतिद्वन्दी हुँदा बाँकी खेलमा कन्फिडेन्ट बढ्छ।
नेपाल पुलिस क्लब
प्रशिक्षक अनन्त थापा
तयारी जहिल्यै राम्रो हुन्छ। विभागीय टिमले जहिल्यै पनि रेगुलर अभ्यास गरिरहेको हुन्छ। त्यसै अनुरुप लिगको तयारी थप उत्कृष्ट भएको छ। आशा छ उपाधि जित्छौं। हाम्रो युवा टिम छ। त्यसलाई क्यापिटलाइज गरेर सरप्राइज नतिजा दिने हो। हामी उपाधिका लागि खेल्नेछौं। राम्रो खेल्छौं। एकै खेलाडीसँग वर्कआउट भएको छ र लामो समय राम्रो कम्युनिकेसन भएकाले खेलाडीलाई एक अर्कोको क्षमता र कमजोरी थाहा छ।
लिगमा राम्रो फुटबल खेल्नेछौं। अन्य क्लबमा विदेशी खेलाडी राख्न पाउने जुन स्वन्त्रतता छ। त्यसले उनीहरु बलिया हुन्छन्। तर हाम्रो आफ्नै मैदान र लामो समय एकै खेलाडी हुँदा त्यसले विदेशी खेलाडीबारे पाएको फाइदालाई मेन्टेन गर्छ। हामी टप थ्रि मा हुन्छौं। मछिन्द्र केहि राम्रो हो कि भन्ने छ। अरु त सबै बराबरी छन्।
कप्तान राम वाजी
यो पटक मेरो पहिलो कप्तानी हो। टिमको तयारी पाँच महिनादेखिको छ। राम्रो छ टिम, पहिलेबाटै खेलिरहको टिम हो। व्यत्तिगत रुपमा जिम्मेवारी बढेको छ।
त्रिभुवन आर्मी क्लब
प्रशिक्षक राजु तामाङ
तयारी एकदमै राम्रो छ। सदाझैं उपाधि नै हाम्रो एकमात्र लक्ष्य हो। पछिल्लो वर्षको तुलनामा यो वर्ष टिम राम्रो छ। तर नवयुग श्रेष्ठको अभाव हुनेछ। उनी उपचारको क्रममा छन्। यद्यपि उनको ठाउँमा भरत खवास, जर्ज प्रिन्स कार्की, सुदिल राईजस्ता फरवार्ड राम्रा छन्। नयाँ खेलाडी पनि छन्। उनीहरुसँग पनि आशा छ।
कप्तान भरत खवास
नवयुग नहुँदा समस्या त हुन्छ नै। परिवारको एक सदस्य कम भएको जस्तो लागेको छ। तर उसलाई फुलफिल गर्ने गरिका खेलाडी हामीसँग छन्। नवयुगको ठाउँ नयाँ खेलाडीलाई मौका पनि हुनेछ। व्यक्तिगत रुपमा लामो समय भयो लिग खेलेको, आर्मी पटक पटक चुकेको छ। तर अबको मेरो लक्ष्य भनेकै च्याम्पियन हो। अन्तिममा गएर केही कुरामा असफल भएका छौं।
तर कमि कमजोरीलाई सुधारेर अघि बढिरहेका छौं। हाम्रो टिममा धेरै त पुरानै खेलाडी हुन्। त्यसले टिम युनाइट भएको छ। हामी सफल हुन्छौं भन्ने आशा गरेका छौं सबै टिम एकदमै राम्रो छ जस्तो लाग्छ। लक्ष्य चाहिँ उपाधि नै हो।
न्युरोड टिम (एनआरटी)
प्रशिक्षक राजुकाजी शाक्य
तयारी राम्रो भएको छ। हामीलाई मैदानको समस्या मात्र हो। अभ्यास गर्ने मैदान अलि हार्ड छ, लेभल छैन। तर अभ्यास खेल खेलेका छौं। खेलाडी सेट हुन समय लाग्यो। तयारी गर्ने क्याम्प कम पायौँ। बेस्ट दिने प्रयास गर्नेछौं।
हामीले विदेशी स्टार खेलाडी ल्याएका छौं। मेसुके ओलुमोउ र स्टेफेन विनोङ खेल्ने निकै राम्रा खेलाडी हुन्। दर्शन गुरुङ र असोक पनि राम्रा छन्। त्यस हिसाबले उपाधि नै कोसिस गर्ने हो। नभए पनि टप फोरमा रहने हो।
एनआरटी राम्रो छ, राम्रो टिम लिएपछि आफूलाई पनि दबाब हुन्छ। अफिसियलले राम्रो गरोस् भन्ने हुन्छ नै। मलाई त अहिलेदेखि नै निद्रा लाग्न छोड्यो।
अहिले मेहनत गर्ने भन्दा पनि फुटबल परिवर्तन भइरहेको छ। क्लब परिवर्तन गर्नु भनेको देशको टिम परिवर्तन गर्नु हो। त्यो तयारीमा हामी छौं। दशैँ तिहारले गर्दा धेरै टिमले अभ्यास गर्न पाएका छैनन्। टाई सिट सुरुमै गर्ने, ग्याप राख्ने हो भने त्यसमा सुधार गर्न सकिन्छ।
कप्तान अजित प्रजापति
जे होस् क्लबको ग्रुप राम्रो बन्दै छ। लामो ग्यापपछि टिम डाउन थियो। तर नयाँ मेनेजर आएर टिम राम्रो हुँदै गयो। हाम्रा खेलाडी बलिया छन्। जे होस् राम्रो नै छ। हामीले हेर्दा त मछिन्द्र नै बलिायो हो। तर हामी सबैसँग फाइट गर्नेछौं। राम्रो फुटबल खेल्छौं।
नेपाल एपीएफ क्लब
प्रशिक्षक कुमार थापा
म आएपछि परिवर्तन भन्दा पनि रेकर्ड चाहिँ राम्रो बनाउने लक्ष्य हो। अब विस्तारै गर्ने हो त्यो। लिगमा दुई जनाले डेब्यू गर्दैछन्। टिमबाट परिवर्तन केही हुन्छ नै, खेल्ने शैली र फर्मेसनमा केहि परिवर्तन हुँदैछ।
पहिलेको आकृतिलाई लगभग विगार्ने पक्षमा छैन। १,२ जना परिवर्तन हुन्छ। फुटबललाई लागेको लगानी फर्काउने गरि खेल्ने हो। रोमान्चक खेल्ने प्रयास गर्नेछौं।
कप्तान टोप विष्ट
तयारी राम्रो छ। त्यसै अनुसारको आशा पनि राम्रो छ। तीन महिना भयो। हामी धेरै माथि जाने कुरा गर्दैनौँ। आठौं भित्र पर्ने हो। अन्तिम समय एकदमै गाह्रो भएको थियो। १२ औं भएका थियौँ। तर केही परिवर्तन भएको छ। र, युुवा खेलाडी पनि राम्रा छन्। विगतको तुलनामा अनुभव पनि भरिएको छ।
सातदोबाटो युथ क्लब
प्रशिक्षक मेघराज केसी
क्लबको हिसाबमा पहिलो पटक ए डिभिजन खेल्दै गरेको हो सातदोबाटो। हामी चाहिँ खेलिसकेका छौं। हामीले सुरुबाटै राम्रो खेल्ने लक्ष्य राखेका छौं। अरुले जसरी लिगलाई हेरिरहेको छ हामीले पनि त्यसरी हेर्दा गाह्रो हुन्छ। किनभने क्लब नयाँ छ। तर, हामीले प्रिसिजनमा राम्रो प्रयोग गरेका छौं। क्लब धेरै उत्साही छ। हामी जिम्मेवार व्यक्तिले नयाँ क्लबलाई राम्रो नतिजा दिन मेहनत गरिररहेका छौं।
नेपालमा ठूलो र सानो क्लब हुँदैन। सातदोबाटो सानो क्लब होइन। तर अनुभवको आधारमा सातादोबाटो पहिलो पटक खेल्दैछ। त्यसले हामीले तयारीलाई विशेष प्राथमिकता दिएका छौं।
फ्लड लाइटमा खेल्नु राम्रो हो, हामीले खेलेका छैनौँ। अनि लिगमा पनि ओपनिङ खेलिरहेका छौं। त्यस हिसाबले क्लबलाई धेरै फाइदा पनि भइरहेको छ। अरुले भन्दा छिटो त्यो माहोलको अनुभव गर्न पाउनेछौं।
लिगको अनुभव चाहिँ खेलेपछि नै थाहा हुन्छ। सबै प्रतियोगितलाई एकै स्तरमा राखेका छौं। र, हामीलाई के थाहा छ भने अरुले भन्दा हामीले धेरै गर्नुपर्छ।
कप्तान मानबहादुर तामाङ
हिमालयन शेर्पाबाट खेलेपछि यहाँ आएको परिवर्तनलाई चुनौतिको रुपमा लिएको छु। यो अवसर पनि हो, आफूले आफूलाई प्रमाणित गर्ने। क्लब नयाँ भएकाले मैले सक्दो दिनेछु। मेरो अनुभव काम लागोस्। युवा हरुलाई पिटर र मार्टिनको अनुभवले पनि सहयोग गर्छ। त्यसले राम्रो नतिजा आउनमा सहयोग गर्छ भन्ने अपेक्षा छ।
मछिन्द्र क्लब
प्रशिक्षक प्रवेश कटुवाल
सबैले मछिन्द्रलाई बलियो त भनेको छ। साविक विजेता पनि हो। हामीले २–४ जना युवा खेलाडी थपेकाले अरुले बलियो देखेको हो। बाँकी टिम पहिलेकै हो। उपाधि रक्षा गर्नका लागि नै हामीले फरवार्डमा नयाँ खेलाडी थपेको हो। च्याम्पियन हुन स्टार खेलाडी राख्नै पर्छ। इन्ज्युरी हुन्छ। त्यसलाई मेन्टेन गर्नैपर्यो। त्यसले पनि गाह्रो हुन्छ। अन्तिम वर्ष पनि त्यहि भएको थियो। सबैले लिग खेल्न चाहिँ पायो। यो वर्ष पनि त्यसरी नै अघि बढ्छौं।
कप्तान सुजल श्रेष्ठ
तीन लगातार लिग जित्दा चौथो पटक जित्न चुनौति छ। यसपाली पनि पहिलेको युवा जोस जस्तै गरि खेल्नेछौं। मैले धेरै पोजिसनमा खेल्न सक्नेछ। त्यसले कोचलाई पनि फाइदा नै होला।
संकटा क्लब
प्रशिक्षक विष्णु गुरुङ
समग्रमा सबैले दह्रो तयारी गरेका छन्। हामीले पनि धेरै तयारी गरेका छौं। लक्ष्य भनेको विस्तारै निर्धारण गर्छौ। ख्ेलाडीबीच कम्युनिकेसन राम्रो छ। चिनेकै खेलाडीहरु छन्।
कप्तान रवि सिलवाल
तयारी राम्रो छ। समय छोटो नै भयो। प्रदर्शनमा धेरै ध्यान दिएका छौं। संंकटाले आफ्नै मैदानमा अभ्यास गर्दा हामीले होस्टेलमा पनि राम्रो वातावरण पायौँ। यो वर्ष राम्रो हुन्छ होला।
च्यासल युथ क्लब
प्रशिक्षक बालगोपल साहुखल
हाम्रो युवा टिम छ। त्यसलाई हामीले एउटा फिलोसोफीले खेलाउने प्रयास गरिरहेका छौं। वस्तावमा भन्नुपर्दा हामी टिम विल्डअप गरिरहेका छौं। तर विराजको उपस्थितिले टिमको मोरल हाइ छ। प्रदर्शन पनि राम्रो भइरहेको छ। युवा भएकाले केही पार्टमा चुक्न सक्छौं।
विदेशी खेलाडीमा दुई अफ्रिकन एक इटालियन खेलाडी छन्। विकास मेराग्लियाको एडजस्टमेन्ट राम्रो छ। उनको प्रदर्शन अनुमान लगाउन सकिने खालको छैन। उनी सिक्दै छन्। युवा खेलाडीले सबै कुरा एकैपटक बुझ्दैनन। कम्युनिकेसन गाह्रो हुन्छ। तर हामी प्रयास गरिरहेका छौं। युवा खेलाडीमा को खेलाउने भन्नेमा मलाई स्वतन्त्रता छ। सिनियर खेलाडी हुँदा प्रशिक्षकलाई त्यसमा दबाब हुन्छ, मलाई छैन्। सन्तोष साहुखला आउँछन् भन्ने छ। तर उनी पछि मात्र आउँछन् होला।
कप्तान विराज महर्जन
मछिन्द्रबाट च्यासलमा जाँदा त्यहाँ पनि अवसर नै मुख्य हो। टिम र खेलाडीका रुपमा राम्रो कम्युनिकेसन राम्रो भएको छ। यो वर्ष पनि च्यासल एक औषत टिम छ। चुनौतिपूर्ण रुपमा काम गरिरहेका छौं। हामीले टप ५ लक्ष्य राखेका छौं। टप ४ सम्म तयारी गछौं।
व्रिगेड बोइज क्लब
प्रशिक्षक सनोज श्रेष्ठ
यो वर्ष सुधार गर्ने हो। राम्रो रिजल्ट ल्याउने छौं। टिमको लक्ष्य भनेको बेस्ट दिने हो। यहि पोजिसन भन्ने चाहिँ छ्रैन। युवा टोली छ। राम्रो फुटबल खेल्ने योजना छ।
कप्तान अनिल गुरुङ
खुसी लागेको छ। टिमको कुरा गर्दा केही राम्रो पनि छ। उमेर समूहमा खेल्ने खेलाडी हाम्रो टिममा छन। र, रिजल्ट पनि राम्रो नै हुन्छ। तर युवालाई लामो समयसम्म लिगमा खेल्न प्रेसर धेरै हुनसक्छ। त्यसले गाह्रो हुन्छ। त्यसलाई हामीले र प्रशिक्षकले ध्यान दिनुपर्छ र मोटिभेन दिइरहनु पर्छ।
मनाङ मर्स्याङ्दी
प्रशिक्षक राजेन्द्र तामाङ
तयारी कार्तिक ३ गतेबाट सुरु गरेको हो। लिग जाडोको बेलामा पर्यो। धेरै कुरा कन्सिडर गर्नु पर्ने हुन्छ। हामीले धेरै उपाधि जितेका पनि छौं। त्यसैले एक किसिमको दबाब पनि हुन्छ। राम्रा खेलाडी छन्। खेलाडीलाई राम्रा गाइडेन्स गर्न पनि साह्रो हुन्छ। हामी नवौं पटक लिग जित्छौं। त्यसरी खेलाडी तयारी गरिरहेका छौं।
पोखरामा पनि खेल हुँदैछ। हाम्रो त्यहाँ राम्रो सपोर्ट छ। त्यहाँ खेल्न त्यही अनुसारको तयारी गरिरहेका हुन्छौं। धेरै पछिको खेल हो। हामीले त्यहाँ खेलेर फ्यानको सहायतामा जित्छौं भन्दा पनि हामी राम्रो खेलेर जित्छौं।
अहिले पलिहेको जस्तो छैन। प्रशिक्षक गुणस्तिरिय बनिसकेका छन्। सबैले बलियो रणनीति बनाएर आइरहेका हुन्छन्। हामीले भन्दा बलियो फर्मेसन बनाएर आउने गरेका छन्। सबै टिमलाई बराबरी मान्नैपर्छ।
कप्तान विमल राना
पहिलो तेफु फुजा प्रशिक्षक हुनुहुन्थ्यो। उहाँ र राजेन्द्र दाईले गराउने अभ्यास त उस्तै छ। टिमलार्य ग्राहो पनि छैन। सबै खेलाडी राम्रा छन्। त्यसले हामीलाई सहयोग गरेको छ। गत वर्ष लकले पनि फेबर गरेन। तर यो वर्ष सुधार भएको छ। गत वर्ष ८ खेलाडीले क्लब छोडेका थिए। त्यसपछि नयाँ खेलाडीले गर्दा धेरै गल्ती भए यद्यपी विगतमा भएको गल्तीलाई सुधार गर्नेछौं।
थ्रिस्टार क्लब
प्रशिक्षक उर्जन श्रेष्ठ
तयारी एकदम राम्रोछ। अब त हामी खेलमै आइस्क्योँ। लिग च्याम्पियनकै लागि फाइट गर्ने हो। सबै टफ छन्। सबै टिम प्रतियोगि नै हुन्। राम्रा छन्। को कस्तो भन्ने खेल हेरेपछि मात्र थाहा हुन्छ।
कप्तान विक्रम लामा
टेक्निकल्ली र ट्याक्टिकल्ली टिम राम्रो छ। उत्कृष्ट रणनीति बनाएर मैदानमा आउने छौं। साडे एक महिनाका तयारी ले टिमलाई एउटा लय दिएको छ।
हिमालयन शेर्पा क्लबका तर्फबाट प्रशिक्षक र कप्तान उपस्थित भएनन्।