काठमाडौं- नेपाल बार एसोसिएसनले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरको पनि राजीनामा माग गरेका छन्। बिहीबार अध्यक्ष श्रेष्ठसँग भेटका लागि पुगेका आयोगका अधिकारीहरूसँग कुराकानीका क्रममा श्रेष्ठले मगरको राजीनामा माग गरेका हुन्।
सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूको आन्दोलनका क्रममा प्रहरीले अध्यक्ष श्रेष्ठलाई सामान्य घाइते बनाएपछि आयोगका अधिकारीहरू बार अध्यक्ष श्रेष्ठलाई भेट गर्न पुगेका थिए।
प्रधानन्यायाधीशीविरुद्धको आन्दोलन थप सशक्त बनाउने घोषणा गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले आयोग अध्यक्षको राजीनामा माग गरिएको जानकारी दिएका हुन्।
'तपबहादुर मगर चोलेन्द्रको कार्यकर्ता हुनुभएको छ। असंवैधानिक तवरबाट नियुक्त भएका अध्यक्ष मगर र प्रधानन्यायाधीश मिलेर कतिपय मुद्दाहरू प्रभावित पारेका छन्। उहाँले एक मिनेट पनि आयोगको अध्यक्षमा एक मिनेट पनि बस्न हुन्न भन्ने सन्देश पठाएको छु,' पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने।