काठमाडौं- नेपाल बार एसोसिएसनले न्यायको मन्दिरलाई युद्धमैदान बनाइएको आरोप लगाएको छ। नेपाल बार एसोसिएसनको आन्दोलनमा प्रहरी दमन भएको र एसोसिएसन परिसरमा प्रवेश गरी केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि अपशब्द प्रयोग गरिएपछि यस्तो बारले यस्तो टिप्पणी गरेको हो।
बिहीबार आफूहरूमाथि दमन गरिएपछि बार पत्रकार सम्मेलन गर्दै न्यायालय परिसरमा अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराई दमन गरिएको भन्दै घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ। साथै उसले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन नरोकिने समेत उल्लेख गरेका छन्।
प्रधानन्यायाधीशबाट न्यायपालिकाको स्वतन्त्रता कायम रहन नसक्ने, भ्रष्टाचाररहित न्यायापालिका बनाउन नसकिने भएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने बताउँदै आएको छ।
आफूहरूको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रवेश गराई प्रधानन्यायाधीशले नै हुलहुज्जत गराएको समेत बारको आरोप छ। आफूहरूको विरोधमा बल प्रयोग गरी अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका अधिवक्ताहरू घाइते भएको बारले जानकारी दिएको छ।
गम्भीर घाइते भएका कानुन व्यवसायी प्रकाश महर्जनको टाउकोमा चोट लागेको र उनको हाल अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको बताएका छन्। यस्तै कानुन व्यवसायीहरू सविता भण्डारी, रमनलाल कर्ण, गोपाल सापकोटालगायत थुप्रै सहकर्मीहरू घाइते भएको बारको भनाइ छ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीले बिहीबार वैकल्पिक गेटमा पनि धर्ना दिने कार्यक्रम बनाएका थिए। उक्त कार्यक्रममा प्रहरीले बल प्रयोग गर्दा कानुन व्यवसायीहरू घाइते भएका थिए। यसपछि बार पुगेका वकिलहरूलाई केही व्यक्तिहरू प्रवेश गरी अपशब्द प्रयोग गरेका थिए।
संसारका कुनै पनि अदालतमा हतियारसहितका प्रहरी प्रवेश नगर्ने भएपनि आफूहरूमाथि दमन गर्न एसएलआरसहितका प्रहरी खटाउनु आपत्तिजनक भएको बारको भनाइ छ। बारले न्यायालय परिसरबाट हतियारधारी प्रहरी हटाउन अनुरोध गर्दै औचित्य पुष्टि गर्नसमेत सरकारसँग माग गरेको छ। हतियारधारी प्रहरी न्यायको मन्दिर परिसरमा प्रवेश गरेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्।
बिहीबारको घटनाको विरोधमा शुक्रबार थप कार्यक्रम गरिने बारको भनाइ छ। आफूहरूमाथि अपशब्द प्रयोग गर्नेहरू बिचौलिया र भ्रष्टका मतियार भएको बारको आरोप छ। आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने भएकाले सबैलाई ऐक्यबद्धता जनाउन र सहयोग गर्न बारको आग्रह छ।
नेपाल बार एसोसिएसन परिसरमा बिहीबार दिउँसो एकाएक चारजना अपरिचित युवा बार भवनमा प्रवेश गरेका थिए। तीमध्येका सुन्तला रङको टिसर्ट लगाएका युवकले कानुन व्यवसायीतर्फ औंला तेर्साउँदै भनेका थिए, 'देश चलाउने बेला आन्दोलन गर्न थाल्नुभयो भने तपाईंहरुको कोट च्यातेर बालिदिन्छौं हाम्ले। जुत्तैजुत्ताले हान्छौ हाम्ले। पैसा आउँछ भन्दैमा गलत मुद्दा लिने, गलत ऊ गर्ने? लाज लाग्दैन? तिमीहरुलाई कति पैसा भयो भने पुग्छ? तिमीहरुलाई यही बारमा आएर कुट्छु।' कानुन व्यवसायीका अनुसार ती युवक उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालका भतिजा तीर्थराज ढकाल भएको एक कानुन व्यवसायीले बताए।