काठमाडौं- नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील विवादको समाधान नभएको र पेलेरै अघि बढ्न खोजेको भन्दै जिल्ला सभापति कर्ण मल्ल नेतृत्वको समूहले बुधबारदेखि अनसन सुरु गरेको छ।
बहुमत जिल्ला कार्यसमितिको निर्णयलाई उल्लंघन गरेर वडासभापतिको अनुपस्थितिमा गराइएको अवैध अधिवेशन खारेजीको माग गर्दै पटक-पटक लिखित आग्रह गर्दा पनि सुनुवाई नभएपछि आफूहरु अनसन बस्न बाध्य भएको जिल्ला सभापति मल्ले बताए।
उनले प्रश्न गरे, 'वडा सभापतिको अनुपस्थितिमा गराइएको अधिवेशन वैध हुन्छ? अहिले सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा रामचन्द्र पौडेलले अधिवेशन गरायो भने त्यो वैध हुन्छ?'
उनले निर्वाचन अधिकृतले नै निर्वाचन गर्ने भए पार्टीको संरचनागत निर्णयको अर्थ नहुनेसमेत बताएका छन्। उनले प्रश्न गरे, 'निर्वाचन अधिकृतले नै निर्वाचन गराउने हो भने विवादित ठाउँमा किन रोकिएका छन्। निर्वाचन गराइ दिए भयो त।'
मल्लले देशभरका ७६ जिल्लामा जसरी अधिवेशनहरु भए त्यही अनुसार डडेल्धुरामा पनि अधिवेशन हुनुपर्छ भन्ने माग कसरी गलत भयो भन्दै थप प्रश्न गरेका छन्।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको रेल अनसनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेता रामशरण महत, रक्षामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायतका नेताहरु सानेपा पुगेका हुन्।
रक्षामन्त्रीसमेत रहेका नेता रिजाल बिहीबार अनसनलाई समर्थन गर्न सानेपा पुगेका हुन्। उनलाई जिल्ला सभापति मल्लले आफ्नो पक्षमा बोल्न र आफ्ना मागहरु सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेका छन्।
जवाफमा नेता रिजालले भने, 'डडेल्धुराको विवादको विषय रमेश लेखकको समितिले हेर्ने विषय हो। हाम्रो समितिको म्यान्डेडमा यो विषय थिएन। एउटा कुरा के हो भने कतिपय कुराहरु भनेर हुन्छ, कतिपय कुराहरु यहाँ नभनेर भन्ने ठाउँमा भनौंला नि।'
उनले आफूले आएर दुई मिनेट अनसन बस्दैमा समस्या समाधान नहुने उल्लेख गर्दै यसलाई पार्टीका बैठकहरुमा उठाउनेसमेत बताएका छन्।