काठमाडौं- नेपालले बिहीबार कतारसँगको टी २० आई सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल खेल्दैछ। आयोजक राष्ट्र कतारको राजधानी दोहामा जारी सिरिजमा लगातार दुई खेल जितेको नेपालले तेस्रो खेलमा पनि जित निकाल्दै सिरिज क्लिन स्विप गर्न चाहन्छ।
आईसीसी टी २० विश्वकप २०२३ को एसियाली छनोटको तयारीका लागि अभ्यास खेल खेलिरहेको नेपालले कतारसँगको सिरिजको पहिलो र दोस्रो खेलमा जित निकालेको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले हराएको थियो। त्यस्तै, टस जितेर ब्याटिङ राजेको नेपालले कतारलाई ६१ रनले हराएको थियो।
सोही सिरिजअन्तर्गतको तेस्रो खेल बिहीबार हुँदैछ। तेस्रो खेलमा जित निकाल्ने सोचमा नेपाली टिम छ। बिहीबारको खेलमा जित निकाल्न सके नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० आई सिरिज क्लिन स्विप गर्नेछ।
जारी सिरिजमा नेपालका इन्दु वर्मा र कप्तान रुविना क्षेत्रीले पहिलो पटक अन्तर्राष्ट्रिय टी २० आईमा अर्धसतक बनाएका छन्। बिहीबार नेपालले कतारसँग खेल्ने तेस्रो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।