जनकपुरधाम– मैथिली भाषाका महाकवि विद्यापति धेरैले सुनेको नाम हो। उनलाई अभिनव जयदेव, मैथिल कोकिल, रससिद्ध कवि, कवि शेखर, रसिक शिरोमणि, कविरत्न कण्ठाहार आदि उपनामले पनि चिनिन्छ। विद्यापतिको जन्म भारतको विहार राज्यको मधुवनी जिल्लाको विस्फीमा भएको मानिन्छ।
उनको जन्मतिथिका विषयमा यकिन तथ्यांक छैन। अध्येताहरुले उनको जन्म सन् १३४० देखि १३७५ को बीचमा भएको अनुमान गरेका छन्। उनको मृत्यु भने कात्तिक धवल त्रयोदशीका दिन भएको विश्वास छ। सोही स्मरणमा विगतमा मैथिल समुदायमा विद्यापति स्मृति दिवस मनाइन्थ्यो। तर यसपल्ट प्राचीन मिथिलाको राजधानी जनकपुरले उनलाई सम्झिएन।
विद्यापतिका पिता गणपति ठाकुर मिथिलाका तत्कालीन राजा कीर्ति सिंह र शिव सिंहका दरबारिया कवि थिए। पिता कवि भएकै कारण उनमा पनि साहित्यप्रतिको रुचि बढ्न गएको हुन सक्ने अनुमान गरिन्छ। विद्यापतिको काव्य रचनामा शासशको यशोगान, शृंगार वर्णन र भक्तिभावना पाइन्छ।
विद्यापति दरबारिया भएर पनि जनकवि थिए, शृंगारिक भएर पनि भक्तिका कवि थिए। शैव शाक्त वैष्णव भए पनि कुनै एउटा पन्थ वा सम्प्रदायमा बाँधिएका थिएनन्। राधाकृष्ण कुनै एक जाति वा देशका होइनन् भन्ने उनी प्रेम कुनै भौगोलिक सीमाभित्र आबद्ध रहन सक्दैन भन्ने मान्यता राख्थे। त्यसैले उनी बृहत् मानवधर्मका पक्षपाती थिए।
विद्यापति धेरै भाषामा कविता लेख्थे। उनले वीररसका लागि अबहट्ट भाषा रोजेका थिए भने भक्ति र शृंगार गीतका लागि मैथिली भाषा छनोट गरे। यस्तै शासकको यशोगानका लागि संस्कृत भाषामा कविता सिर्जना गरेका छन् उनले।
अबहट्ठ भाषा रोज्नुको कारण पनि कवितामार्फत नै व्यक्त गरेका छन्। यही अभिव्यक्तिले उनलाई जनजनमा प्रिय बनाएको हो।
सक्कय बानी बहुजन भवइ पाअऊँ रस को मम्म न पाबइ।
देसिल बयना सब जन मिठ्ठा, तेँ तैसन जम्पञो अबहट्ठा। (कीर्तिलता)
विद्यापति कविका अतिरिक्त भूगोलका ज्ञाता, इतिहासकार, राजनीतिज्ञ र समाज सुधारकसमेत थिए। उनी गरिब, धनी, उचनीच सबैप्रति समान दृष्टि राख्थे भन्ने कुरा उनका काव्यकृतिको अध्ययनबाट थाहा हुन्छ।
बालविवाह, बहुविवाहजस्ता विसंगतिका विषयमा उनले सात सय वर्षअगाडि कवितामार्फत कडा प्रहार गरेको पाइन्छ। त्यस्तै आमा, सासू, स्त्रीधन, सतीप्रथा, वेश्याको सामाजिक स्थिति, नारी सौन्दर्यका बारेमा पनि उनले कलम चलाएका छन्। मिथिलाको आर्थिक स्थिति, खानपान, भेषभूषा, धार्मिक स्थिति उनका काव्यले समेटेका अन्य विषय हुन्। उनले आफ्ना पदावलीमा तत्कालीन समाजमा विद्यमान रूढि, सामाजिक विसंगतिप्रति आक्रोश मात्र पोखेका छैनन् व्यंग्य पनि गरेका छन्।
पिया मोरा बालक हम तरुनी
कोन तप चुकलौंह भेलौंह जननी।
पहिरलेल सखी एक दखिनक चीर
पियाके देखैत मोर दगध शरीर।
पिया लेली गोदकै चलली बजार
हटियाके लोग पूछे के लागू तोहार।
नही मोरा देवर ई नही छोट भाइ
पूरव लिखल छल बालमु हमार।
यस गीतमा बेमेल विवाहका विसंगतिलाई विनोदी शैलीमा व्यंग्य गरिएको पाइन्छ। साथै नायिकाको यौवनजनित प्राकृतिक चाहनालाई मिठो शैलीमा प्रस्तुत गरिएको छ।
सखी कि पुछसी अनुभव मोए
से हो पिरित अनुराग बखानिए
तिल तिल नूतन होए
जनम अवधि हम रूप निहारल
नयन न तिरपित भेल......
प्रियतमलाई आफ्नो बनाउन सफल भएपछि प्रणयभावनामा एक विशेष प्रकारको आत्मविश्वास उत्पन्न हुन जान्छ। यस्तो अवस्थामा सखीहरू अत्यन्त उत्सुक भएर यसको कारण जान्न खोज्छन्। यहाँ कवि प्रबुद्ध कामशास्त्रीका रूपमा प्रस्तुत भएका छन्।
जे किछु कभु नही कला रस जान
नीर खीर दुहु करए समान
तन्ही सों कहाँ पिरित रसाल
बानर कण्ठ कि मोतीय माल
भनही विद्यापति इह रसजाने
बानर मुँह कि सोभय पान।
ब्रह्मबैवर्त पुराण आदिमा राधाकृष्णको कामक्रीडालाई जसरी चित्रण गरिएको छ, त्यसमा अश्लीलताको आक्षेप लगाउने गरिन्छ। तर विद्यापतिकी नायिका राधा त्यो रतिरागलाई अत्यन्त शिष्ट भाषामा पोख्छिन्। विद्यापतिका काव्यमा गाउँघरका सामान्य पतिपत्नी राधा र कृष्णको रूपमा प्रस्तुत भएका छन्।
हँसी हँसी पहु आलिंगन देल
मनमथ अंकुर कुसमित भेल
जब निविबन्ध खसाओल कान
तोहर शपथ हम किछु नहीँ जान।
विद्यापति र नेपाल
विद्यापतिको जन्म भारतीय भूमिमा भए पनि उनको साइनो नेपालसँग विभिन्न कोणबाट जोडिन्छ। इतिहासकारहरूका अनुसार मुसलमान शासकहरुले मिथिलाका तत्कालीन राजा शिव सिंंहलाई बन्दी बनाएर दिल्ली पुर्याए। विद्यापतिले शिवसिंहकी रानीसहित उनका परिवार एवं सेवकलाई संरक्षणमा राखेर हालको महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७ स्थित बनौलीमा १२ वर्षभन्दा बढी समय बिताएको मैथिली एवं संस्कृतका विद्वान् डा. गोविन्द चौधरी बताउँछन्।
चौधरीका अनुसार बनौली प्रवासका बेला उनले ‘लिखनावली’ नामक ग्रन्थ लेखेका थिए भने ‘श्रीमदभागवत’ को मैथिली भाषामा अनुवाद गरेका थिए। विद्यापतिको कवित्वको प्रभाव काठमाडौं उपत्यकाको धार्मिक र सांस्कृतिक जीवनमा पनि परेको देखिन्छ। उनले रचना गरेका भजनहरू देवालयहरुमा गाइन्छ।
बुधवा रंगीया भंगीया भोला।
चन्दन तिलक सोहे माथे हि डोलाय।
बाजेलागि डमरु रिमिकी दिमिकिया
नाचे लागी बुध्वा उँमकि उँमकिया....
भनहेँ विद्यापति शिवजीकी लीला।
जगत् पतिके लीला।
00
जनकपुरधाममै मनाइएन विद्यापति स्मृति पर्व
जनकपुरधाम प्राचीन मिथिलाको राजधानी हो। तर विद्यापति स्मृति पर्वको अवसरमा यस वर्ष कुनै पनि संस्थाले औपचारिक कार्यक्रम गर्ने चाहेनन्। जनकपुरधामको विद्यापति चोकमा रहेको विद्यापति स्मारक संरक्षण समितिले २०५३ सालदेखि विद्यापति स्मृति पर्व अनवरत रुपमा आयोजना गर्दै आइरहेको थियो। यस पटक सो संस्थाले पनि कुनै कार्यक्रम आयोजना गरेन। विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीले विद्यापति स्मृतिको जिम्मेवारी जनकपुरधाम उपमहानगरपालिका, प्रदेश सरकार, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् लगायतले लिनुपर्ने बताए।
‘मैथिलीको नाउँमा खोलिएका संस्थाले यो स्मृति पर्वलाई भव्यतापूर्वक मनाउनुपर्छ’, चौधरीले भने, ‘तर ती संस्थाहरु कमाई खाने भाँडो मात्रै बनेका छन्।’ विद्यापति स्मृति पर्वका दिन समेत जनकपुरधाम सुनसान देखिनु ती संस्थाका लागि ठूलो दाग रहेको उनको भनाइ छ।
मिथिला नाट्य कलापरिषद् पनि विद्यापतिलाई सम्झने गरेको छैन। कलापरिषद्का अध्यक्ष झा भन्छन्, ‘हामीले संस्थागत रुपमा कुनै कार्यक्रम आयोजना गर्ने गरेका छैनौं।’ उनले विद्यापति स्मारक संरक्षण समितिले आयोजना गर्दै आएको कार्यक्रममा भने सहभागी हुने गरेको बताए।
विद्यापति डिह अतिक्रमणको सिकार
मैथिली एवं संस्कृतका विद्वान् डा. चौधरीका अनुसार तत्कालीन मिथिलाका राजा शिव सिंहको अवस्था अज्ञात भएपछि उनकी रानी लखिमाको संरक्षणको जिम्मा विद्यापतिले लिएका थिए। रानी लखिमाको संरक्षणका लागि शिव सिंहका मित्र पुरादित्य समक्ष पुगे।
पुरादित्यको राज्यमा पुगेर विद्यापतिले रानी लखिमालाई पति विरहको आभास नहोस् भन्ने उद्देश्यका साथ आफ्ना रचना सुनाउँथे। विद्यापति जहाँ बसेर रानीका लागि काव्य रचना गर्थे ती ऐतिहासिक स्थल अहिले ओझेलमा छन्। कतिपय डिह व्यक्तिका नाममा गइसकेको छ।
पिपरा गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष रुपेश झाले स्थानीय सरकार विद्यापति डिहको संरक्षणमा गम्भीर रहेको बताउँछन्। ‘यसका लागि गाउँपालिकाले २१ लाख बजेट छुट्याएको थियो, तर संरक्षणका लागि पहल थाल्दा जग्गा निजी भइसकेको रहेछ।’ पुरातत्त्व विभागसँग समन्वय गरेर विद्यापति डिहको उत्खनन् गरिने योजना झाले सुनाए।