काठमाडौं- सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरूको आह्वानमा आज फुलकोर्ट बैठक बस्ने भएको छ। बैठकमा गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने विषयमा छलफल हुने बताइएको छ।
बैठकले नियमावली संशोधनको कार्यविधि अनुमोदन गरेपछि आन्दोलित न्यायाधीशहरू इजलास फर्किने भएका छन्। बुधबार नै नियमावली संशोधनका लागि तयार कार्यविधिमा उनीहरूबीच सहमति भएपछि त्यसलाई अनुमोदन गर्नका लागि फुटकोर्ट बोलाउन आग्रह गर्ने निर्णय गरिएको थियो।
नियमावलीमा प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने व्यवस्था छ। त्यसलाई संशोधन गरेर गोला प्रणालीबाट मुद्दा तोकिनेछ बनाइनेछ। सर्वोच्च अदालतको फुलकोर्टबाट निर्णय भएपछि त्यसलाई मुख्य रजिस्ट्रारले कानुन मन्त्रालयमा पठाने छन्।
कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि गोला प्रणाली लागू गर्ने व्यवस्था कार्यान्वयनका लागि कानुनी आधार पूरा हुनेछ। संशोधित नियमावली कहिलेदेखि लागू हुनेछ भन्नेबारे भने सर्वोच्चका न्यायाधीशहरूले टुंग्याउन बाँकी छ। सो टुंगिएपछि उनीहरू इजलास फर्किने भएका हुन्।
सर्वोच्च अदालत नियमावलीअनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ। यसअघि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले आजका लागि बोलाइएको बैठकमा पनि जबरासँगै नबस्ने बताएका छन्।
जबराबाहेकका उपलब्ध न्यायाधीश बसेर निर्णय गर्ने र सो निर्णय जबरासमक्ष पठाउने न्यायाधीशहरूको तयारी छ।