विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १० गते हुने मोरङ जिल्ला अधिवेशनका लागि गुटगत समूह तयार गरिएको छ।
संस्थापन र संस्थापन इतर समूहले पदाधिकारीहरूको टुङ्गो लगाएको छ। मोरङ सभापतिमा संस्थापन पार्टी सभापति शेरबहादुर देउवा समूहबाट पूर्व जिल्ला उपसभापति दिलीप गच्छदार, संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट वर्तमान सभापति डिगबहादुर लिम्बुको नेतृत्वमा पदाधिकारीको टुंगो लगाइएको छ।
संस्थापन समूहबाट सभापतिमा गच्छदार, उपसभापतिमा गोपाल थापा र सुबोध सिंह, सचिवमा शुशील कोइराला, दिलीप पोखरेल र सहसचिवमा सञ्जय मण्डल, अशोक रिजालको नाम तय भएको बताइएको छ। यो समूहलाई केन्द्रीय सदस्य डा. डिला संग्रौला, अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीलगायतको समर्थन छ।
संस्थापन इतर समूहबाट सभापतिमा लिम्बु, उपसभापतिमा वर्तमान सचिव नागेश कोइराला र भक्तिनाथ माझी, सचिवमा ललित श्रेष्ठ र रविन राई, सहसचिवमा भुवनेश्वर मण्डलको नाम टुङ्गो लागेको नेताहरूले बताएका छन्। लिम्बु प्यानलबाट सहसचिवमा एक जनाको नाम टुङ्गो लाग्न बाँकी छ।
सीता कार्की र सन्तोष साहको नामबारे छलफल भइरहेको बताइएको छ। यो समूहलाई केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, महेश आचार्यलगायतको समर्थन छ।
मंसिर ३ र ६ गते हुने प्रदेश र संघीय क्षेत्र अधिवेशनका लागि मोरङमा चार दर्जन व्यक्ति सभापति पदका आकांक्षी देखिएका छन्।
संस्थापन इतर समूहबाट सभापतिमा उम्मेदवारी दिन लागेका लिम्बु गुट परिवर्तन गरी पुनः प्रतिस्पर्धा गर्न लागेका हुन्। १३औं जिल्ला अधिवेशनमा उनी देउवा समूहबाट प्रतिस्पर्धा गरी सभापतिमा निर्वाचित भएका थिए।
मोरङमा देउवा र पौडेल दुवै समूह बाहेक तेस्रो धारबाट पूर्व सचिव यदु विष्टले जिल्ला सभापतिमा उम्मेदवारी दिने भएका छन्। उनको नेतृत्वको प्यानल तयार भएको छैन। संघीय क्षेत्रीय अधिवेशन पनि आफू नेतृत्वको प्यानल घोषणा गर्ने उनले बताए।
प्रदेश र संघीय क्षेत्रीय सभापतिमा चार दर्जन आकांक्षी
मंसिर ३ र ६ गते हुने प्रदेश र संघीय क्षेत्र अधिवेशनका लागि मोरङमा चार दर्जन व्यक्ति सभापति पदका आकांक्षी देखिएका छन्।
३ गते हुने प्रदेश क्षेत्रअन्तर्गत १२ वटा क्षेत्रका लागि अहिलेसम्म ३० जनाभन्दा व्यक्ति सभापति पदको लागि दाबेदारी प्रस्तुत गरेका छन्। संघीय क्षेत्रअन्तर्गत ६ वटा निर्वाचन क्षेत्रमा पनि डेढ दर्जन आकांक्षी मैदानमा देखिएका छन्।
क्षेत्र नम्बर १ (क) क्षेत्रमा बिरबल थापा, गोपाल बस्नेत र अर्जुन तुम्रुक सभापति पदका दाबेदारका रूपमा देखिएका छन्। कांग्रेसको केन्द्रीय गुटगत राजनीतिमा तीनै जना पौडेल समूह निकट हुन्। क्षेत्र नम्बर १ (ख) मा राजकुमार लामा र राजकुमार तामाङ सभापति पदका लागि आकांक्षी देखिएका छन्। गुटगत हिसाबले दुवै जना पौडेल–कोइराला समूह नजिक भए पनि लामा मोरङ कांग्रेसका सभापति डिकबहादुर लिम्बु विरोधी गुटमा आबद्ध छन्।
क्षेत्र नम्बर २ (क) मा सभापति पदका लागि तीन जना आकांक्षी देखिएका छन्। जीवन पनेरु, कनैया राजवंशी र दीपेन्द्र निरौला रहेका छन्। तीनै जना पौडेल–कोइराला निकट व्यक्ति हुन्। तीनै जना गुटगत हिसाबले डा. मिनेन्द्र रिजाल निकट मानिन्छन्।
क्षेत्र नम्बर २ (ख) मा देवेन्द्र बस्नेत र इन्द्रमणि थापा सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै जना पौडेल–कोइराला निकट व्यक्ति हुन्।
क्षेत्र नम्बर ३ (क) मा लोकमणि न्यौपाने र गंगा याख्खाले सभापति पदका लागि दाबेदारी प्रस्तुत गरेका छन्। दुवै जना पौडेल–कोइराला पक्ष निकटका हुन। क्षेत्र नम्बर ३ (ख) मा सभापतिका लागि केदार अधिकारी र जगतराम थारुबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै जना पौडेल–कोइराला निकट व्यक्ति हुन्।
क्षेत्र नम्बर ४ (क) मा एकाराम माझी र विजय माझी सभापति पदका आकांक्षी देखिएका छन्। एकारामलाई पौडल–कोइराला निकट हुन भने विजय माझी संस्थापन निकट हुन्। ४ (ख) को सभापतिमा सुबोध निरौला, राजु थापा, विनायक पन्त र रविन बानिया प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका छन्। जसमा सुबोध निरौला पौडेल–कोइराला पक्ष निकटका हुन। रविन बानिया संस्थापन देउवा पक्षका हुन्। तर, बानियालाई पौडेल समूहका गुरुराज घिमिरेको समेत समर्थन रहने बुझिएको छ।
क्षेत्र नम्बर ५ (क) को सभापतिमा अचानु खाँ, मालिक चन्द मण्डल, जयनाथ मण्डल र सञ्जीव मण्डलबफच प्रतिस्पर्धा हुने देखिएको छ। चारै जना आकांक्षी देउवा पक्षका हुन्। क्षेत्र नम्बर ५ (ख) को सभापतिका लागि पनि देउवा पक्षकै दिनानाथ आचार्य र जितु साहले प्रतिस्पर्धाको तयारी गरिरहेका छन्।
क्षेत्र नम्बर ६ (क) मा दीपक भगत र बालचन्द्र माझी क्षेत्रीय सभापति पदका दाबेदारको रूपमा देखिएका छन्। भगत पौडेल–कोइराला पक्ष निकटका हुन भने माझी देउवा पक्ष निकट मानिन्छन्। क्षेत्र नम्बर ६ (ख) मा मधुबाबु तिवारी र विकास पराजुली सभापतिका पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। दुवै उम्मेदवार पराजुली पौडेल–कोइराला पक्ष निकटका हुन। तिवारीलाई पौडेल समूहका महेश आचार्य समूहले सहयोग गर्ने देखिएको छ।
मोरङ कांग्रेसका प्रदेश अधिवेशनमा पार्टीको केन्द्रीय गुटका आधारमा भन्दा पनि स्थानीय गुटगत स्वार्थका आधारमा प्रतिस्पर्धा हुने कांग्रेस नेताहरू बताउँछन्।
संघीय क्षेत्र सभापति पदका लागि डेढ दर्जन आकांक्षी देखिएका छन्। क्षेत्र नम्बर १ मा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र लेटाङ नगरपालिका प्रमुख शंकर राईबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसको केन्द्रीय गुटमा दुवै पौडेल समूहकै नेता हुन्। राई मोरङ कांग्रेसका सभापति लिम्बु निकटका व्यक्ति हुन्।
क्षेत्र नम्बर २ बाट नागेश्वर सिंह, सुमन कुवर, यज्ञ कार्की र सत्यनारायण पण्डितबीच प्रतिस्पर्धा गर्ने सम्भावना छ। तीनै जना पौडेल–कोइराला निकटका व्यक्ति हुन्।
क्षेत्र नम्बर ३ मा गणेश खड्का र राजेन्द्र ढकाल सभापतिका दाबेदार देखिएका छन्। खड्कालाई पौडेल–कोइराला निकटका सुनिल शर्मा लगायतको समर्थन छ भने ढकाललाई प्रदेश सांसद शेखर थापा र सुन्दर हरैचाका प्रमुख शिव ढकाललगायत नेताको समर्थन रहेको बुझिएको छ।
क्षेत्र नम्बर ४ मा विनोद बस्नेत, वसन्त हुमागाईं, सञ्जय थापा सभापति पदका आकांक्षी देखिएका छन्। बस्नेतलाई पौडेल पक्षका महेश आचार्य, हुमागाईंलाई गुरुराज घिमिरे र थापालाई संस्थापन पक्षका अमृत अर्यालको समर्थन रहेको बुझिएको छ।
क्षेत्र नम्बर ५ मा सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ। दिलीप पोखरेल, अर्जुन निरौला, जीवश गच्छदार र सामनारायण मण्डल सभापति पदका आकांक्षी रहेका छन्। चारै जना संस्थापन पक्षका हुन्।
क्षेत्र नम्बर ६ मा चेतराज रेग्मी र देवराज तामाङबीच प्रतिस्पर्धा हुने देखिएको छ। रेग्मी संस्थापन पक्षका हुन भने तामाङ संस्थापन इतर पक्षका हुन्।
मोरङ कांग्रेसका प्रदेश अधिवेशनमा पार्टीको केन्द्रीय गुटका आधारमा भन्दा पनि स्थानीय गुटगत स्वार्थका आधारमा प्रतिस्पर्धा हुने कांग्रेस नेताहरू बताउँछन्।