काठमाडौं- इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई नेपाल पेलेट फिड इन्डस्ट्रिजले प्रोत्साहन स्वरुप बुधबार ट्रयाकसुट प्रदान गरेको छ। विश्व प्रसिद्ध ब्रान्ड एडिडासको ट्रयाकसुट १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई प्रदान गरिएको हो।
एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद थारु, वीरमान लामा र चित्रसिंह ठकुरी रहेका छन्। महिलामा निमा घर्ती मगर, सुस्मिता तामाङ, जुनी राई र लुमन्ति श्रेष्ठ छन्। प्रशिक्षकमा उसु प्रमुख प्रशिक्षक अम्बरकुमार थिङ, शैलेन्द्र श्रेष्ठ र फत्तबहादुर लामा तथा व्यवस्थापकमा लाक्पा छिरिङ लामा छन्।
निमा १२ औं सागकी स्वर्णधारी हुन् भने विजय, युवराज, सुस्मिता र जुनीले १२ औं सागमा रजत जितेका थिए । मंगल र सुस्मिताले इन्चोन एसियाड खेल्दा, पदम, वीरमान र लुमन्तिकालागी इन्डोनेसिया एसियाड ‘डब्यु’ अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ।
नेपालले चीनको बेइजिङमा सन् १९९० मा भएको ११ औं एसियाली खेलकुददेखि उसुमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसएता नेपालले उसुमा निरन्तर भाग लिदै आएको छ । सबै संस्करणमा नेपाल पदकविहीन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४