काठमाडौं- राष्ट्रिय जनमोर्चाले सत्तारुढ पाँच दलीय गठबन्धन फुटाउने प्रयास भएको ठहर गरेको छ। राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पाँच दलीय गठबन्धन फुटाउन देशी विदेशी शक्तिहरु लागिरहेको ठहर गरेको हो।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनलाई टुटाउनका लागि देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको छ । त्यसका लागि एमाले, भारतीय, अमेरिकी साम्रज्यवाद तथा राजावादी शक्तिहरुले पुरा प्रयत्न गरिरहेका छन् । ५ दलीय गठबन्धनलाई टुटाउनका पछाडि ती शक्तिहरुका बेग्लाबेग्लै उद्देश्यहरु रहेका छन्।’
बैठकमा देशको समग्र राजनीतिक परिस्थितिबारे छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ। बैठकले अमेरिकाले एमसिसी पारित गराउन, भारतले नेपालमा राजतन्त्र तथा हिन्दूराज्य ब्यूँताउन, एमाले र राजावादीहरुले देशलाई प्रतिगमन तर्फ लैजाने उद्देश्यले काम गरेको ठहर पनि गरेको छ।