काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने दोहोर्याएका छन्। सभापतिका आकांक्षी रहेका महामन्त्री कोइराला पछिल्लो समय उम्मेदवारीबाट पछि हटेको भन्ने हल्लाहरु चलिरहेको समयमा आफू पछि नहटेको दाबी गरेका छन्।
सङ्खुवासभा जाने क्रममा तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, 'कसले के भन्यो, त्यो सरोकारको विषय भएन। म सभापतिमा लड्छु। कुनै दायाँबायाँ छैन।'
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको दाबी छ। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्नेसमेत जानकारी दिएका छन्।
महामन्त्री कोइरालाले सत्तापक्षीय गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए। उनले भने, 'आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन।'
नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो।