काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन्।
सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका हुन्।
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको दाबी छ। उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्नेसमेत उल्लेख गरे।
महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताएका थिए। 'आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन,' उनले भने।
नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो। कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो।
उता कोइराला परिवारबाट एक जना मात्र सभापतिको उम्मेदवारी दिने र शेखरलाई उम्मेदवार बनाउने विषयमा सहमति भएको समाचार आइरहेका बेला शशांकले संखुवासभामा यस्तो बताएका हुन्। शेखर पनि सभापतिको उम्मेदवारबाट पछि हट्न नसक्ने बताउँदै आएका छन्। सुजाताले पनि सभापतिमा दाबी गर्दै आएकी छन्।