काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबलाई नेपाल आइस र केटिएम सिटीले प्रायोजन गरेको छ। आसन्न लिगमा हिमालयन शेर्पा क्लबलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ।
त्यस्तै, क्लबलाई केटिएम सिटीले जर्सी स्पोन्सर गरेको हो। उसले २५ लाख बराबरको प्रायोजन गरेको हो। नेपाल आइसको कम्पनी सीजी ग्रुप र क्लबबीचको प्रायोजक रकम भने गोप्य राखिएको छ।
‘राम्रै रकममा सम्झौता भएको छ। हामीले विभिन्न क्लबलाई प्रायोजन गरेका छौं। सबैको सम्झौता रकम गोप्य नै छ,’ सीजी ग्रुपका प्रतिनिधि प्रदीप पुडासैनीले भने।
यता अखिल नेपाल फुटबल संघ (एन्फा) समेतका अध्यक्ष रहेका हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले गर्विलो इतिहास रहेको क्लबसँग लामो समय अनुबन्ध रहोस् भन्ने कामना गरे। उनले हिमालयन शेर्पा मात्र नभएर सबै क्लबले प्रायोजक पाउनुपर्ने बताए। क्लबका प्रशिक्षक युगल किसोर राईले क्लबले राम्रो स्थानको लागि लड्ने बताएका छन्।