काठमाडौं– १३ टिमको सहभागिता रहने फिफा विश्वकपअन्तर्गत युरोपेली छनोटका समूह चरणका सबै खेल सकिएका छन्। मंगलबार राति समूह डी, ई र जीका अन्तिम चरणका खेल सकिएसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका हुन्।
समूह चरणका खेल सकिएसँगै अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा सहभागी हुने १० युरोपेली देशको टुंगो लागेको छ। समूह एदेखि जेसम्म रहेका १० समूहको शीर्षस्थानमा रहने टिमले सिधै विश्वकपको समूह चरणमा स्थान बनाएका छन्।
विश्वकममा पुग्ने टिममा सर्बिया, स्पेन, स्विट्जरल्यान्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, क्रोएसिया, इंग्ल्यान्ड र जर्मनी छन्।
त्यस्तै अब युरोपका १३ मध्ये तीन टिमको टुंगो भने प्लेअफबाट लाग्नेछ। समूहको दोस्रो स्थानका टिमले प्लेअफमा स्थान बनाउनेछन्। प्लेअफमा १० समूहको १० टिम र युरोपेली नेसन्स लिगको समूह चरणका उत्कृष्ट २ टिम सहभागी बन्नेछन्। ती १२ टिमलाई तीन समूहमा विभाजन गरेर प्ले अफ खेलाइने छ।

तीनै समूहको सिंगल राउन्ड रोबिन सेमिफाइनल खेल खेलाइनेछ। सेमिफाइनलमा जित निकाल्ने टिमले सिंगल लेगको फाइनल खेल्नु पर्नेछ। फाइनल खेलमा विजयी तीन टिमले विश्वकपमा स्थान बनाउने छन्।
अब समूहमा दोस्रो स्थानमा रहेका पोर्चुगल, स्विडेन, इटाली, यक्रेन, वेल्स, स्कटल्यान्ड, टर्की, रसिया, पोल्यान्ड र नर्थ म्यासेडोनियालाई नेसन्स लिगको उत्कृष्ट २ समूह विजेतासँग समूहमा विभाजन गरेर खेलाइनेछ।
समूहका अन्तिम चरणका खेल मंगलबार राति मात्र पहिलो चरणमा सम्पूर्ण खेलहरू सकिएका छन्। सो खेलमा फ्रान्सले जित निकालेको छ। फिनल्याडको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम फ्रान्सले आयोजक टिमलाई २–० गोलले हराएको हो।
फ्रान्सको जितका लागि फरवार्ड करिम बेञ्जिमा र केलियन एम्बाप्पेले समान १–१ गोल गरे। उनीहरूले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए। ६६औं मिनेटमा एम्बाप्पेले दिएको पासको सदुपयोग गर्दै बेञ्जिमाले गोल गरे भने ७६औं मिनेटमा एल डिग्नेले दिएको पासको सदुपयोग गर्दै एम्बाप्पेले गोल गरे।
यससँगै समूह डीमा अपराजित रहँदै फ्रान्सले विश्वकप यात्रा तय गर्यो। सोही समूहको दोस्रो स्थानमा रहेको युक्रेनले विश्वकप पुग्न प्ले अफ खेल्न पाउनेछ।

मंगलबार राति बेल्जियम वेल्ससँग १–१ गोलको बराबरीमा रोकिएको छ। बेल्जियमका केभिन डिब्रुएनले खेलको १२औं मिनेटमै अग्रता बनाए पनि ३२औं मिनेटमा वेल्सका किइफर मोरेले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।
समूह ईको शीर्षस्थानमा रहेको बेल्जियम एक खेल अगावै कतार विश्वकपमा पुगिसकेको छ। अब दोस्रो स्थानको वेल्सले भने विश्वकप पुग्न प्लेअफ खेल्न पाउनेछ।
त्यस्तै, गएरातिकै खेलमा टर्कीले मेन्टेनेग्रोलाई २–१ गोलले हराएको छ। सो जितसँगै टर्कीले भने प्लेअफमा स्थान बनाएको छ। जिब्राटरले लात्भियासँग ३–१ गोलको हार बेहोर्दा युक्रेनले बोसनियाँ हर्जगोभिनासविरुद्ध २–० गोलको जित निकाल्यो।
त्यस्तै, नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्ले विश्वकपको यात्रा तय गरेको हो। यता कतार विश्वकपकै दक्षिण अमेरिकी छनोटबाट ब्राजिल र अर्जेन्टिना छनोट भएका छन्।
आयोजक राष्ट्र भएकाले कतार पनि आउँदो विश्वकपमा छनोट भइसकेको छ। यससँगै विश्वकपमा १३ राष्ट्र छनोट भएका छन्।