काठमाडौ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम पठाउन नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले निर्देशन दिएको छ। आइतबार सभापति देउवा निवासमा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्देशन जारी गर्ने निर्णय गरेको हो।
'अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरुबाट प्राप्त प्रतिवेदन अनुसार पार्टीको चौधौँ महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको नामावली विवरण केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने' निर्णय भएको कांग्रेसद्वारा जारी निर्णयमा उल्लेख छ।
यस्तै क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी)लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ताको समय दिइएको छ।
क्रियाशील सदस्यताका लागि नाम र रकमलगायतका विवरण पेस गरेका आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगलका ४० जना र क्यानडास्थित नेपाली जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ। यी जनसम्पर्क समितिमा अधिवेशन हुन बाँकी भए तत्काल अधिवेशनको मिति प्रस्ताव गर्नसमेत कांग्रेसको निर्देशन छ।
अष्ट्रेलिया र डेनमार्कका समितिअन्तर्गत नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न र नयाँ क्रियाशील सदस्यता समेत पाउने भएका छन्।
यसैगरी, इजरायल र पोर्चुगलका जनसम्पर्क समितिले संशोधनका लागि पठाएको विधान स्वीकृत गर्ने कांग्रेसको निर्णय छ।
अष्ट्रियाको नेपाली जनसम्पर्क समितिलाई आबद्धतासमेत प्रदान गरेको छ।
कांग्रेसका निर्णय
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास, वुढानिलकण्ठमा आज सम्पन्न भयो। महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा विभिन्न प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो। बैठकले देहाय बमोजिम निर्णय गरेको छ।
१. पार्टीको चौधौ महाधिवेशन सम्बन्धी नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा कार्तिक ११, २०७८ मा प्रकाशित संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने।
२. समावेशी समुहतर्फ वडादेखि जिल्ला तहसम्मनै अधिकतम समुहको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफलमा भएको सहमति अनुसार सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको सिफारिसमा २०७८ भाद्र १७ गते र असोज ८ गते समावेशी समुहतर्फको प्रतिनिधित्व सम्बन्धी थप गरी लागु गरिएको व्यवस्थालाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने गरी स्वीकृत गर्ने।
३. चौधौं महाधिवेशनमा नवीकरण गरेका नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भई क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिले प्रदेश कार्यसमितिको सदस्य र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति,, महानगरपालिका÷उपमहानगरपालिका कार्यसमितिको सभापति पदमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्ने, पहिलो पटक क्रियाशील सदस्यता नवीकरण गरेका व्यक्तिको अवधि पाँच वर्ष पुगेको गणना गर्ने र सोही अनुसार गर्न गराउन केन्द्रीय निर्वाचन समितिलाई लिखित जानकारी गराउने।
उपरोक्त व्यवस्थालाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ।
४. विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी
१. पार्टीको विधान र नियमावली अनुसार क्रियाशील सदस्यताको नामावलीको सूची र रकम लगायतका विवरण केन्द्रमा पेश गरेका आयरलैण्ड, फ्रान्स, नेदरल्याण्ड, वेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानडा स्थित नेपाली जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने।
२. नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन विधान बमोजिम योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गर्ने।
३. नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गर्ने।
४. क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरुलाई एक हप्ता भित्र पठाउन निर्देश गर्ने।
५. अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरुबाट प्राप्त प्रतिवेदन अनुसार पार्टीको चौधौ महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलव्ध गराउने।
६. यूरोपस्थित अष्ट्रिया देशमा बसोवास गर्ने १११ जना नेपालीहरुको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आवद्धताका लागि हस्ताक्षर सहितको उपस्थितिको प्रतिलिपी, विधानको मस्यौदा लगायतका आवश्यक कागजात पेश हुन आएकोले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रीयालाई आवद्धता प्रदान गर्ने।
५. चौधौं महाधिवेशनसंग सम्बन्धित समितिहरु
नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि केन्द्रमा देहाय बमोजिमका समितिहरुको गठन गर्ने :–
१. महाधिवेशन तयारी मूल समिति
संयोजक :– सभापति श्री शेरबहादुर देउवा
सदस्यहरु :– केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमन्त्रीत केन्द्रीय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरु
२. अर्थ संकलन समिति :–
संयोजक :– केन्द्रीय सदस्य मा. ज्ञानेन्द्रबहादुर कार्की
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
३. भोजन तथा आवास व्यवस्थापन समिति
संयोजक :– केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
४. विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति
संयोजक :– सहमहामन्त्री डा. प्रकाशशरण महत
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
५. प्रचार प्रसार समिति
संयोजक :– प्रवक्ता विश्वप्रकाश शर्मा
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
६. उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति
संयोजक :– काठमाण्डौ जिल्ला सभापति
सदस्य : ललितपुर र भक्तपुर जिल्ला सभापति
(संयोजकले आवश्यकता अनुसार अन्य सदस्य तोक्ने)
७. स्वास्थ्य समिति
संयोजक :– केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
८. सांस्कृतिक समिति
संयोजक :– केन्द्रीय सदस्य सीता गुरुङ्ग
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
९. स्वयंसेवक व्यवस्थापन समिति
संयोजक :– नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की राना
सदस्य :– संयोजकले आवश्यकता अनुसार तोक्ने
— केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु. ३,०००।– (तीन हजार) बुझाउनु पर्नेछ।
६. प्रदेश अधिवेशनसंग सम्बन्धित समिति
मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने :–
प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला
प्रदेश नं. २, जनकपुर – संयोजक – केन्द्रीय सदस्य रमेश रिजाल
बाग्मती प्रदेश, हेटौडा – संयोजक – केन्द्रीय सदस्य मा. प्रकाशमान सिंह
गण्डकी प्रदेश, पोखरा – संयोजक – केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ
लुम्विनी प्रदेश, वुटवल –संयोजक – केन्द्रीय सदस्य मा. बालकृष्ण खाँण
कर्णाली प्रदेश, सुर्खेत – संयोजक – केन्द्रीय सदस्य मा. जीवनबहादुर शाही
सुदुरपश्चिम प्रदेश, धनगढी – संयोजक – केन्द्रीय सदस्य मा. दिलेन्द्रप्रसाद बडू
– प्रदेश अधिवेशन आयोजक समितिका सदस्यहरु : सम्बन्धित प्रदेश भित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष।
– आयोजक समितिको संयोजकको अध्यक्षतामा प्रदेश अधिवेशन उद्घाटन समारोह हुनेछ।
– प्रदेश अधिवेशनका प्रतिनिधिहरुको आवास र भोजनको व्यवस्थापन प्रदेश अधिवेशन आयोजना हुने जिल्लाले गर्नेछ। यसका लागि प्रदेश अधिवेशन आयोजक समितिले आवश्यक सहयोग गर्नु पर्नेछ।
– प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्क वापत रु. २,०००।– (दुई हजार) बुझाउनु पर्नेछ।
पारित शोक प्रस्ताव
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेर राणाका सुपुत्र, राष्ट्रिय सभाका पूर्व सांसद एवं पूर्व राजदूत रूक्म शम्शेर राणाको भाद्र २६ गते; नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य धनराज गुरुङकी ममतामयी माता प्यारी गुरुङको भाद्र १ गते; काठमाडौं जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ६ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अर्जुन दमाईको भाद्र ४ गते; प्रजातन्त्र सेनानी सुनसरीका स्व. भेषबहादुर नेपालीको धर्मपत्नी चेतमाया नेपालीको भाद्र १ गते; नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरका हजुरबुबा इन्द्रबहादुर थापा मगरको भाद्र १ गते; नेपाली कांग्रेस सुनसरीका पूर्व महाधिवेशन प्रतिनिधि एवं नेपाल दलित संघ सुनसरीका सभापति मदनलाल खत्वेको भाद्र १ गते; काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेसका वडा सभापति विनोद भट्टको भाद्र ५ गते; काठमाडौं जिल्ला नागर्जुन नगरपालिका वडा नं. १ का पार्टीका पुराना एवं अग्रज व्यक्तित्व जयप्रसाद बन्जाराको भाद्र १ गते; प्रजातन्त्र सेनानी लम्जुङका स्व. रोहिणीराज त्रिपाठीको धर्मपत्नी महेश्वरी त्रिपाठी; सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व वावु लामा (दोङ्वा) को भाद्र १५ गते; नेपाली कांग्रेसका अग्रज व्यक्तित्व एवं पूर्व गा.वि.स. अध्यक्ष शेख सगिर अहमदको असोज १० गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य रामेछापका मेघबहादुर खत्रीको असोज २० गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति, तत्कालीन रूकुम जिल्लाका पूर्व उपसभापति एवं वरिष्ठ अधिवक्ता डा. नवराज गौतमको असोज २८ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीकी ममतामयी माता टीकादेवी अधिकारीको असोज २८ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाकी धर्मपत्नी एवं सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष श्रीमति मीरा अधिकारी लामाको कार्तिक ६ गते; नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङ्गका पूर्व जिल्ला सदस्य रुबीभ्याली गाउँपालिका वडा नं. २ का जोमसाइ घलेको कात्तिक ८ गते; पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का धनबहादुर लावती र चन्दामाया खालिङ राईको कात्तिक २ गते; नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखार गाउँपालिका वडा नं. १ का पूर्व इकाई उपसभापति हिरालाल लामाको कार्तिक १४ गते; नेपाली कांग्रेस पर्साका महाधिवेशन प्रतिनिधि असर्फी साहकी ममतामयी माता बच्चा देवीको कार्तिक १३ गते; नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य पाँचथरका क्याप्टेन दलबिर कुरुम्वाङ लिम्बूको कात्तिक १९ गते र नेपाली कांग्रेस सोलुखुम्बुका महासमिति सदस्य शम्भुहरि बाँस्तोलाका पिता चित्रप्रसाद बाँस्तोलाको कात्तिक १६ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ।
बैठकमा धारणा व्यक्त
बैठकमा नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु—प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., रमेश रिजाल, एन.पी.साउँद, मीनबहादुर विश्वकर्मा, गगनकुमार थापा, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, डा. गोपाल दहित, रामकृष्ण भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु— बालकृष्ण पाण्डेय, आनन्द (गोरख) विष्ट र कृष्णकिशोर घिमिरेले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।