काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उद्देश्य अनुसार परिणाम निस्कने गरी काम गर्न राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएकी छन्।
राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौंमा सोमबार भएको आयोगको कार्ययोजना तथा कार्यपत्र प्रस्तुती कार्यक्रममा मन्त्री श्रेष्ठले यसअघिका आयोगहरुले गरेका कामहरुलाई समेत आधार मानेर बाँकी काम तोकिएको समयमा नै सम्पन्न गर्नेगरी योजनाबद्ध रुपमा लाग्न आग्रह गरेकी हुन्।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था कार्यान्वयन गरी नागरिकलाई अधिकार दिने विषयमा अब ढिलाइ गर्न नहुने भन्दै प्रभावकारी रुपमा काम गर्ने गरी योजना र कार्यविधि बनाउन निर्देशन दिएकी हुन्।
'आयोग गठन हुने तर कामले पूर्णता नपाउने कुराको अब अन्त्य हुनुपर्छ, अघिल्ला आयोगले गरेका कामलाई स्वामित्व नलिने परम्परा छ, नागरिकलाई नैसर्गिक अधिकार दिन ढिला भइसक्यो, जुन कुरा संविधानमा नै छ त्यो काम गर्न ढिला गर्नु हुँदैन। भूमिहीन किसानका समस्या छिटोभन्दा छिटो समाधान गरेर उनीहरुलाई अधिकार सम्पन्न गराउनुपर्छ,' मन्त्री श्रेष्ठले भनिन्।
मन्त्री श्रेष्ठले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबाससम्बन्धी समस्या फेरि पनि रहिरहने र पटक–पटक आयोग र समिति बनाउने कार्यको अन्त्य गर्ने गरी काम गर्न समेत आयोगका पदाधिकारीहरुलाई आग्रह गरेकी छन्।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले कार्ययोजना तयार पारेर जतिसक्दो छिटो काम सम्पन गर्नेगरी अगाडि बढेको बताए।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डे, नापी विभागका महानिर्देशक प्रकाश जोशी र राष्ट्रिय भूमि आयोगका पदाधीकारीहरुको उपस्थिती थियो।