काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश नै विभाजित भएका छन्। आन्दोलनरत न्यायाधीश र नेपाल बार एसोसिएसनबीचको छलफलमा पाँच न्यायाधीश अनुपस्थित भएका हुन्। उनीहरूले मंगलबारदेखि नियमित काममा फर्किने निर्णय गरेको पाँच मध्येका एक न्यायाधीशले बताए।
सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल नियमित काममा फर्किने भएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कारबाही माग गर्दै उनले तोकेका बन्दीबाहेकका इजलास बहिष्कार गर्दै आएका ५ न्यायाधीशले अरू सहकर्मीहरूसँगको छलफलमा नबस्ने भएका छन्।
उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमतिको फुलकोर्टमा मात्र सहभागी हुने अडान राखेका छन्। जनतालाई न्याय दिन बसेका न्यायाधीश इजलास नबस्दा जनताले सास्ती पाएको देखेर चित्त दुखेको भन्दै काममा फर्किन राजी भएको उनीहरुको भनाइ छ।